सर्लाही । धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन र अनुसन्धानको पर्खाइमा छ । बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार दुई हजार ६ सय वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्घिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिर समेत ध्वस्त बनाइदिएको स्थानीय जानकारहरुको भनाइ छ । यस मन्दिर बजेट अभावमा संरक्षण हुन सकेको छैन । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचना जीर्ण अवस्थामा पुगेका वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताए ।
पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा दैवी शक्ति रहेको स्थानीय विमला कार्कीको भनाइ छ । विषेश गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गर्दछ । मन्दिर दर्शनका लागि भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् । बरहथवा नगरपालिका–९, स्थानीय ८२ वर्षीया चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारतको व्यापारिक केन्द्र सुवर्णग्राम सहरका रुपमा रहेको कौटिल्य शास्त्रमा उल्लेख रहेको बताए । गयासुद्घिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जङ्गलमा परिणत भएको उनको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटाहरु फेला पर्ने गरेको छ ।
मन्दिर परिसरमार रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुङ्गामा दुई हजार ६ सय वर्ष पुरानो बोलीचालीको भाषा ब्रह्म लिपि फेला परेको हो । विभागका तत्कालीन योजना प्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन तथा पुनःनिर्माणका क्रममा ढुङ्गाको ब्लकमा ब्रह्म लिपि अर्थात् पाली भाषा कुँदिएको फेला परेको थियो । वडाध्यक्ष लुइँटेलले भने,“मन्दिर बनाउन प्रयोग गरेको ढुङ्गामा पाली भाषामा लेखिएको भेटियो । काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलीचालीको भाषा नै ढुङ्गामा कुँदेको हुनुपर्छ ।” यस क्षेत्रमा चार फिट गहिरो खन्ने बित्तिकै ८/८, ११/११, १२/१२ आकारका बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताए ।
मन्दिरको तीन किलोमिटर दक्षिणमा लौकठ, हिरापुरलगायतका गाउँ रहेको थियो । उक्त गाउँमा वाग्मतीलगायत विभिन्न नदीको बाढी पसेपछि २०११ सालमा स्थानीय बासिन्दा यस मन्दिर नजिकै बसाइँ सरेका थिए । गाउँ बढ्दै जाँदा यस मन्दिरको संरचनाहरु फेला परेको स्थानीय ७४ वर्षीय कृष्ण कडरियाले जानकारी दिए । उनका अनुसार २०२२ सालमा स्थानीयको पहलमा मन्दिर क्षेत्र सरसफाइ तथा यत्रतत्र रहेका मन्दिरका मूर्ति, गजुरलगायत सामान जम्मा गरेर मन्दिर स्थापना गरिएको थियो । मन्दिरको तीन सय मिटरदेखि तीन किलोमिटरको दूरीमा समकालीन चक्रेश्वर महादेव मन्दिर, गणेश मन्दिर, कटकुइँया (काठको पानी खाने डुँड), पोखरी, गुलरिया ताल, किसनपुर पोखरी, ब्रह्मनाल गुफालगायत संरचनाहरु अहिले पनि छन् । यी संरचना संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका वडाध्यक्ष लुइँटेलले बताए । मन्दिर परिसरमा रहेको १० फिट गहिरो ४२ फिट लामो टनेलसंरक्षण हुन नसक्दा भत्किने अवस्थामा पुगेको छ ।
बजेट अभावमा यस मन्दिर क्षेत्रको उत्खनन र पुनःनिर्माण पूरा हुन नसकेको बरहथवा नगरपालिकाले जनाएको छ । ठूलो धनराशि लाग्ने भएपछि मन्दिर क्षेत्रको पहिलो चरणको पुनः निर्माण गरेर अरु त्यसै छाडिएको छ । स्थानीय तहको पहलमा २०७२÷७३ सालदेखि मन्दिरको मुख्य संरचनाको पुनःनिर्माण सुरु भएको थियो । दुईपटक गरेर पुरातत्व विभागले पहिलोपटक १ करोड र दोस्रो पटक ५ करोड ३२ लाख लगानीमा मूल मन्दिरको पुनः निर्माण गरेको हो । विभागले सात वर्ष लगाएर मन्दिरको पुनःनिर्माण तथा उत्खनन गरेको थियो ।
विभागले गरेको अनुसन्धानबाट लुम्बिनीको मायादेवी मन्दिरमा फेला परेकै भाषा र जमिनमुनिको इँटा यस मन्दिर परिसरमा पनि फेला परेको हो । यस अर्थमा पनि यो मन्दिरको संरचना पनि समकालीन रहेको दाबी गरिएको छ । यस मन्दिरको संरचना पुनः निर्माण तथा यस क्षेत्रको उत्खननका लागि पुरातत्व विभागबाहेक कतैबाट बजेटको व्यवस्था नभएको नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले बताए । बजेट नभएकै कारण धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार तथा संरक्षण र पुनःनिर्माणका बाँकी काम अलपत्र परेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्