Shikhar Insurance
National Life

करिब १ करोड लगानीमा बनेको झोलुङ्गे पुल हेम्जावासीका लागि वरदान सावित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १३:५६
Hyundai
NCELL
NIMB

गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जामा झोलुङ्गे पुल बनेपछि किसान खुसी भएका छन् । हेम्जाको याम्दी खोलाको झोलुङ्गे पुल बनेपछि आउजाउ गर्न सहज भएकाले किसान खुसी बनाएकका हुन् ।

किसान हरि पौडेलले भने,“पहिले एक घण्टा लाग्थ्यो, अहिले दश÷पन्ध्र मिनेटमा खेतमा पुगिन्छ । पुल बनेपछि धेरै सुविस्ता भएको छ ।” गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको पौडेलले बताए । “पहिले यहाँको अधिकांश जग्गा बाँझै थियो, पुलले आवातजावत सहज बनाएपछि फेरि खेतीपाती सुरु भएको छ”, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हेम्जामा सडक र नहरको सुविधा आएपछि झण्डै ३० वर्षदेखि उपल्लो टिमिरेचौर, तल्ला टिमिरेचौर, चिसाखोलालगायत क्षेत्रमा स्थानीयले कृषि गर्न छाडेका थिए । खेतबारी झाडीमा परिणत भएको थियो । ६४ वर्षीय ऋषिराम पौडेलका भनाइमा त्यस क्षेत्रमा पहिले धानलगायत खेतीबाली गरिन्थ्यो । “हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै यही थियो, यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो । पछि सबै हेम्जातिर सरेपछि यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ” उनल बताए ।

उनले आफूले पनि यस वर्षको रोपाइँका लागि बीउ राख्ने तयारी गरेको सुनाए । ऋषिरामले पुल बनाउनका लागि जग्गासमेत दिएका थिए । उनले पुल छेउछाउमा रहेको जग्गामा तरकारी खेती गर्दै आएका छन् । सोही ठाउँका गोविन्द पौडेलले उपल्लो टिमिरेचौरमा ७५ घरपरिवारको जग्गा रहेको बताए । “पहिले दुई भाइ पौडेलको दुई सय मुरी धान हुने खेत यहाँ थियो, जेठबुढो धान लगाइन्थ्यो”, उनले भने,“झण्डै २५÷३० वर्ष यहाँ रोपाइँ नै भएन, अहिले फेरि किसान रोपाइँको तयारीमा लागेका छन् ।” खेतमा आउजाउको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले त्यो क्षेत्र पछाडि परेको गोविन्दले बताए ।

उनले भने,“अहिले पुलले धेरै सहज भयो, किसान फेरि कृषितिर फर्किन थालेका छन्, बाहिरबाट आएर जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेहरु पनि छन् । हेम्जावासीका लागि यो झोलुङ्गे पुल वरदान नै सावित बनेको छ ।” पहिले पैदल तल खोलामा झेरर फेरि माथि खेतमा उक्लँदा सारै दुःख हुने गरेको हेम्जाकी दुर्गा पौडेलले बताए । “जाँदा मल बाकेर, फर्कदाँ धानको भारी लिएर आउँदा निकै गाह्रो हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ, पुल बनेपछि सिँचाइ कुलोका लागि पनि बजेट आएको छ । झाडी पल्टिएको जग्गालाई सफाइ गरेर कृषि गर्न सुरु गरिएको छ” उनले भने ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ९१ लाखको लगानीमा पुल बनेको जानकारी दिए । “स्थानीवासीको आवश्यकता पहिचान गरेर त्यहाँ पुल निर्माण गरिएको हो, पुलले विशेष गरी कृषिउपजलाई बजार ल्याउन सहज बनेको छ, किसानको दैनिक पनि फेरिएको छ”, उनले भने । एक सय ७१ मिटर लामो र झण्डै एक सय मिटर अग्लो उक्त झोलुङ्गे पुल म्याग्दीको रामकृष्ण निर्माण कम्पनीले बनाएको हो । सोही ठाउँको तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ ।

चिसाखोलामा प्रदेश सरकारकै लगानीमा अर्को पुल बनाउने तयारी छ । याम्दामाथिका तीन झोलुङ्गे पुलले सयौँ किसानसहित त्यस क्षेत्रका बासिन्दालाई लाभ पुग्नेछ । प्रदेशभित्र सडक, पक्की पुल र झोलङ्गे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पहाडी र हिमाल भेगमा आवातजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको छ । पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ ।

हाल १० वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको र ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा रहेको निमित्त निर्देशक डा बानियाँले जानकारी दिए । “चालु आवमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि बजेटेको स्रोत सुनिश्चित गरिएको छ”, उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्