बागलुङ । डढेलोका कारण दुई महिनामा बागलुङमा २ हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ । फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो ।
जिल्ला डिभिजन वन कार्यालयका अनुसार फागुन ११ गतेदेखि सुरु भएको डढेलो वैशाखको १९ गतेसम्म ६८ वनमा लागेको थियो । दुई महिनामा ६६ सामुदायिक वन तथा दुई राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिए । राष्ट्रिय तथा सामुदायक वनमा आगलागीका कारण ठूलो क्षति भएको उनले बताए । दुई हजार एक सय ७४ हेक्टर वनमा देखिने क्षति भए पनि अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको उनलृ जानकारी दिए ।
तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोले एकजनाको मृत्यु, दुई घाइते भएका थिए । बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जलेको थियोभने दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ, छ बाख्रा, दुई भैँसी, एक राँगा मरेका थिए ।
जङ्गली जनावर पनि मरेका छन्,केही बस्तीमा छिरेका पाएका छौं, जनावारको क्षतिको तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन”, पन्थीले भन्नुभयो । जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाको ३३ हजार नौ सय नौ हेक्टरमा पाँच सय २७ सामुदायिक वन छन् ।
प्रतिक्रिया दिनुहोस्