गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ।
कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख छन् । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले सुनाए । उनले भने,“पहिले दिनभर हिँडेर पोखरा आउजाउ गर्नुथ्र्यो, अहिले आधा–एक घण्टामै पुगिन्छ । यस क्षेत्रमा आउने पर्यटकलाई पनि धेरै सहज भएको छ ।” लामो समयसम्म कच्ची रहेको सडक कालोपत्र हुँदा गाउँको मुहार नै फेरिएझैँ भएको उनले बताए ।
मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक हालै कालोपत्र भएको जानकारी दिए । उनका अनुसार थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । “अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ”, वडाध्यक्ष गुरुङले भने, “बाँकी खण्ड कालोपत्रका लागि स्रोत जुटाउन पहल भइरहेको छ ।” मार्ग खुलेको झन्डै दुई दशकपछि पोखरा–सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिएको उनको भनाइ छ । “प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ”, उनले बताए ।
प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत विजयपुरखोलाबाट थाकसम्म पहिलो चरणको काम सकिएको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । विजयपुरखोला–थाक खण्डमा काष्ठमण्डप जेभीले २२ करोड २६ लाख ७८ हजारमा ठेक्का लिएर काम गरेको थियो । पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागेको बताए । “अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार काम गरिरहेको छ”, उनले भने । थाक–चिप्ली खण्ड स्तरोन्नतिको जिम्मा रौताहा निर्माण कम्पनीले लिएको छ ।
२५ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको रौताहा निर्माण कम्पनीका सब–इन्जिनियर भरत थापाले जानकारी दिए । “३० महिनाको ठेक्का अवधि हो, सात महिना अझै बाँकी छ, समयमै सक्ने गरी कामलाई तीव्रता दिएको छौँ । कालोपत्रका लागि गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीको भने अभाव भइरहेको छ, वैकल्पिक व्यवस्था गरेर काम गरिरहेका छौँ” उनले बताए । मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए । “अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सकिन्छ, कालोपत्र सडक सिक्लेसम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ”, उनले भने,“बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।”
पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पु¥याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । वडाध्यक्ष देवीजङ्गले सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए । “सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्र्याउन सकिन्छ”, उनले भने ।
पछिल्लो समय सिक्लेसबाट कोरी र कपुचे तालसम्मको पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । सिक्लेसबाट कोरीसम्म केबुलकार सञ्चालनका लागि पनि एक निजी कम्पनीले अध्ययन गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । हिमशृङ्खला अवलोकनसँगै प्रकृति, ग्रामीण परिवेश र संस्कृतिको आनन्द लिन पर्यटक सिक्लेस पुग्ने गर्दछन् । गुरुङ बाहुल्य सिक्लेस प्रदेश राजधानी पोखराबाट ३८ किमीको दूरीमा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्