काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ ।
त्यस्तै, प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।
कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उनलाई सदनमा बोल्न दिने सहमति गरेका थिए ।
प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलन मार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताए ।
कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्