काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषधसहित तीन विदेशी महिला पक्राउ गरेको छ । कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौं महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौं ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने ‘कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम रहेको छ ।’ पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । बरामद गरिएको अवैध लागुऔषध कोकिनको बजार मूल्य २ करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्