कैलाली । कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्न ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो ।
सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा र खिमडी–वीरखेत सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले बताए । सिमली–खिमडी सडकको सात किलोमिटर स्तरोन्नतिका लागि श्रीधर वसन्त निर्माण सेवा मोहन्यालसँग ५२ लाख ५५ हजारमा ठेक्का सम्झौता भएर काम सुरु भएको उनले बताए । सोल्टा–ताम्चा–राम्सा सडकको सात किलोमिटरका लागि रोहित निर्माण सेवा बाजुरासँग ५७ लाखमा ठेक्का सम्झौता भएको जनाइएको छ । खिमडी–वीरखेत सडकको नयाँ ट्रयाकसँगै स्तरोन्नतिको काम उपभोक्ता समितिमार्फत ३५ लाखमा सम्झौता भएको इञ्जिनियर भण्डारीले जानकारी दिए ।
सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको समपूरक अनुदान र खिमडी–वीरखेत सडक तराई–मधेस समृद्धि कार्यक्रममार्फत बजेट विनियोजन गरिएको इञ्जिनियर भण्डारीले जानकारी दिए । ती दुई निर्माण कम्पनीले गाउँपालिकासँग गत चैतमा सम्झौता गरी चालु आर्थिक वर्षको असारसम्म स्तरोन्नतिको काम सम्पन्न हुने गरी काम धमाधम भइरहेको इञ्जिनियर भण्डारीको भनाइ छ ।
साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण र ग्याबिङ जाली भर्ने काम निर्माण कम्पनीले गरिरहेको गाउँपालिकाले जनाएको छ । स्तरोन्नति हुन लागेको सडकमध्ये सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा सडकको २०७५ साल अघि नै ट्रयाक खुलेको जनाइएको छ । मोहन्याल गाउँपालिका पहाडी भेगमा पर्ने भएकाले स्तरोन्नतिका लागि विनियोजन गरिएको बजेट पर्याप्त नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले बताए ।
मोहन्यालका सातवटै वडा कार्यालय सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए । ट्रयाक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने मोहन्याल–४ का पूर्ववडाध्यक्ष टेकेन्द्र बोगटीले बताए । विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब सो गाउँपालिकाका सबै वडा सडक यातायातसँगै जोडिएकाले यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले सहजरुपमा बजार पाउने विश्वास गरिएको बोगटीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्