Shikhar Insurance
National Life

वायुप्रदुषणको दुष्प्रभावबाट बच्ने डा. रवी महतको उपाय

डा. रवी महत
२०८१ बैशाख ३०, आईतवार १७:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ ।

पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको अनुभव भएको छ । हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौं एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११०० लिटर जति हावा लिन्छौं । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ ।

वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् ।

तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।

दीर्घकालीन असरमा
प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले हाम्रो श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्याहरूको सृजना गर्न सक्छ। प्रदूषणबाट हुने दीर्घकालीन समस्या मध्ये प्रमुख रोग दम नै हो, यसको साथसाथै फोक्सोको क्यान्सर, उच्चरक्तचाप, हृदयघात, मस्तिष्कघात, मुटुको चाल अनियमित हुने जस्ता समस्याहरू पनि देखिन सक्छ ।

वायु प्रदूषण बालबालिका र गर्भवती महिलाहरुका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदुषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ ।

यसबाट कसरी जोगिने ?
व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणको लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन । सहरी क्षेत्रको कुरा गर्दा प्रदुषण बढ्ने विशेष समय भनेको विहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर ननिक्लने । सकेसम्म प्रदुषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्कको प्रयोग गर्ने ।

हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशत सम्म कणहरूलाई छेक्न सक्दछ, यद्यपि हानिकारक ग्यासहरू र अत्यन्त सुक्ष्मकणहरू बाट भने यसले बचाउन सक्दैन ।

ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइठा मट्टी तेलको चुलो आदिमा खाना पकाउने इन्धन हो र त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवा जम्मा नहुने किसिमले वायुसंचारको व्यवस्था मिलाउने, स्वच्छ उर्जाको प्रयोगमा बढी जोड दिने आदि हो ।

वनजङ्गल वन्यजन्तुको साझा घर हुनुको साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ र मानवीय रूपमा पनि वनजङ्गलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाई कारबाही गर्ने नियम कानुन को अवलम्बन गर्न आवश्यक छ ।

(लेखक डा. महत श्वासप्रश्वास रोग विशेषज्ञ हुन् उनी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा कार्यरत छन् )

GBIME

प्रतिक्रिया दिनुहोस्