कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले ७ कठ्ठा जग्गामा तरकारीखेती गरेका छन् । उनले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोपर्दै आएको बताएका हुन् । तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरैमात्रै बिक्री हुन थालेकामा गौतम चिन्तित भएका छन् ।
बजारमा तरकारी बेच्न लैजाँदा लागत खर्च नै उठनेगरी व्यापारीकै दरभाउमा बेच्नुपर्ने भएको छ गौतमले बताए । तरकारी उत्पादन गर्दा लागेको खर्च नै नउठ्ने भएपछि निराश भएका छौं । उत्पादित तरकारी १० देखि १५ प्रतिकिलोका दरले पनि मुस्किलले बिक्री हुन थालेको उनले बताए ।
तरकारी उत्पादन गर्दा लागत खर्च नै प्रतिकिलो २० जति पर्ने गरेको छ, त्यसमा ढुवानी खर्च जोड्दा २२ प्रतिकिलोसम्म पर्छ, बारीमै कुहिनुभन्दा सस्तोमै बिक्री गर्न बाध्य छौं गौतमले भने । व्यापारीले आधा किलोभन्दा बढी तौलका लौका, फर्सीलगायत तरकारी खरिद गर्न मान्दैनन् त्यही भएर बेच्न नपाएर बारीमै कुहिन थालेको दिलबहादुर चौधरीले बताए ।
बजार सानो छ, तरकारी उत्पादन धेरै छ, त्यही भएर पनि तरकारी बिक्री गर्न समस्या छ उनले भने । किसानले उत्पादन गरेको तरकारी महेन्द्रनगर, अत्तरिया, कैलालीको धनगढीसम्म बिक्रीका लागि लैजाने गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, भीमदत्त, लालझाडी, कृष्णपुर, बेलौरीलगायत क्षेत्रमा अधिक तरकारी उत्पादन हुने गरेको छ । पहिला उत्पादित तरकारी नेपालगञ्ज, काठमाडौं, बुटवलसम्मका व्यापारीले खरिद गरेर लैजाने गरेका थिए । हाल कैलाली कञ्चनपुरबाहेकका जिल्लामा तरकारी बिक्री नहुँदा किसानलाई तरकारी बेच्न समस्या भएको छ ।
एकै गाउँबाट दैनिक कम्तीमा ५० क्विन्टल तरकारी उत्पादन हुने गरेको छ स्थानीय नरेन्द्रप्रसाद चौधरीले भने ‘ बजार सानो छ, त्यही भएर सस्तोमै तरकारी बिक्री गर्न खोजे पनि खपत कम हुँदा बिक्री हुन पाएको छैन ।’ स्थानीय तह र जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले किसानले उत्पादन गरेको तरकारीको बजार प्रवर्द्धन गर्न आवश्यक रहेको किसानको भनाइ छ ।
व्यावसायिक तरकारीखेती गर्ने किसानलाई सरकारी तवरबाट प्रोत्साहित गर्न बीउबिजन, सिँचाइ, मलखाद, कृषियन्त्र र औजारमा अनुदान उपलब्ध गराउने कार्यक्रम अघि सारिएपछि त्यसको परिणामस्वरुप तरकारी उत्पादन गर्ने किसान बढेका छन् । स्थानीय किसानले उत्पादित तरकारी बिक्री गर्न बजार व्यवस्थापनको कार्यमा सहजीकरण गरिदिनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्