तनहुँ । चालु आर्थिक वर्ष तनहुँका सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो ।
सडक योजना अन्तर्गत आठ र झोलुङ्गे पुल आठ वटाको निर्माण रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा दुई सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
साउनदेखि चैत महिनाको हालसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुई वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ । ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास–५, म्याग्दे–१,२,३ हुँदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ । उनका अनुसार व्यास–१० स्थित गोवद्र्धन मार्ग, व्यास–११ को बाराही रानी मार्ग, व्यास–१ को पुरानो छाब्दी मार्ग, व्यास–११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ ।
त्यसैगरी, घिरिङ– ५ को कामधेनु मोटर मार्ग, म्याग्दे–४ को छाङ–थर्पु मोटरमार्ग, बन्दीपुर–६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके–कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ । कूल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना ३० लाख मुनिका रहेकाले रकमान्तर भई अन्य जिल्लामा सरी गएपछि हाल दुई सय ९५ योजना निर्माण चरणमा रहेको उनले बताए ।
सडक निर्माणका लागि वार्षिक बजेट १२ अर्ब ४५ करोड ९७ लाख ३० हजार रहेको छ । योजनाको हाल ३१.५३ प्रतिशत वित्तीय प्रगति भएको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्