नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।
जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सिउँ एक हजार छ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताए । उनले भने,“गत वर्ष जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा दुई हजार नौ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ । यसमध्ये तोरी एक हजार दुई सय ८५ मेट्रिक टन र सर्सिउँ एक हजार छ सय ३५ मेट्रिक टन रहेको छ ।”
बर्दघाट सुस्तापूर्वमा गत आवर्ष २०७९/८० मा भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए । “दुई वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ । जिल्लामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”उनले बताए ।
अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको कृषि बालीविज्ञ ढकालले बताए । उनले भने, “तोरी लगाउन पनि सजिलो भएकाले जिल्लामा तोरीखेती फस्टाएको हो । किसानले उत्पादनको उचित मूल्य पनि पाएका छन् ।”नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्