काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
मंगलबार काठमाडौंका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरुमा थपिएको बताएका हुन् ।
उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानिछानि आक्रमण गर्न लगाएको आरोप लगाए । उनले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए ।
उनले आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताए । उनले राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरित रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताए ।
उनले सरकारले तोकेको निषेधित क्षेत्रहरु संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताए । ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबार अगाडिबाट माईतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्