काठमाडौं । बाढिबाट क्षतिग्रस्थ आयोजनालाई राहत दिन अर्थ समितिले निर्देशन दिएको छ । संसदको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको चैत २२ गते बसेको बैठकले विविध निर्णय गर्दै निर्देशन दिएको हो । नेपालको पूर्वी भागमा मिति २०८०/०२/३२ देखि २०८०/०३/०२ सम्मको अविरल वर्षा बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन र संचालनमा रहेका जलविद्युत आयोजनाहरूमा गम्भिर क्षति पुगेको थियो ।
प्रभावित आयोजनाहरूलाई मर्मत सम्भारको लागि आयात गर्नुपर्ने आवश्यक पार्टपुर्जा तथा उपकरणहरूलाई १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिई आयात गर्ने व्यवस्था गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८०/०९/०३ को निर्णय बमोजिमको सिफारिस तत्काल कार्यान्वयन गर्न र सो को प्रगति विवरण ७ (सात) दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस्तै, प्रभावित आयोजनाहरूलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८०/०९/०३ को निर्णय बमोजिमको सिफारिस अनुसारको पुनरकर्जाको व्यवस्था गर्न तथा प्रभावित आयोजनाहरूको ऋणको व्याज रकमलाई पूँजीकरण गरी पुनरतालिका गर्ने व्यवस्था गर्न र सो को प्रगति विवरण ७ (सात) दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
यसैगरी, प्रभावित आयोजनाहरूका हकमा प्रमोटर शेयरको लक-इन पिरियडको व्यवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८०/०९/०३ को निर्णय बमोजिमको सिफारिस अनुसार सम्बन्धित नियमावलीमा संशोधन गर्ने व्यवस्था गर्न र सो को प्रगति विवरण ७ (सात) दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्