काठमाडौं । अर्थमन्त्री वर्षमान पूनले अब आउने बजेट बस्तुपरक, समावेशी र स्रोत सुनिस्चित भएको आउने बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रिबजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले आगामी बजेटका बारेमा यस्तो बताएका हुन् ।
गत बर्ष अर्थतन्त्रमा भएका कमी कम्जोरीहरुलाई सुधार गर्दै बस्तुपरक बजेट ल्याउँने दाबी गर्दै पूनले भने ‘यो वर्ष बजेट समावेशी र वस्तुपरक बनाउने प्रयास भएको छ । त्यही अनरुप बजेटको ३ महिना पहिला बजेट विनियोजनका बजेटका सिद्धान्त र प्राथमिकता माथि संसदमा छलफल भएर आवश्यक सुझावहरु आएका छन् । सरकारको नीति तथा कार्यक्रमसँग नबाँझिने गरी लैजाने कोशिस भइरहेको छ ।
उनले गत वर्ष बजेटमा भएको व्यवस्थापकीय कमजोरीलाई यो बर्ष सच्याउने बताउँदै भने ‘ गत वर्ष कुनै राष्ट्रिय दल विशेषको नजिकको नीति कार्यक्रम अर्को बजेट र अर्कोबाट मौद्रिक नीति भन्ने टिप्पणी गरिए । यो हाम्रो कमजोरी पक्ष हो । व्यवस्थापकिय कमजोरीहरु भएकै हो । यसलाई यो वर्ष सच्याउने प्रयास भसकेको छ ।’
ऊर्जा, विद्युत, कृषि, पर्यटन, आईटी क्षेत्रहरु बजेटले समेट्ने प्रमुख क्षेत्र रहेको बताउँदै पूनले भने ‘यो वर्ष १६ अर्ब विद्युत निर्यात भएको छ । भने ३ अर्ब सिमेन्ट निर्यात भएको छ । आईटी सेक्टर नेपालले निर्यात गर्न सक्ने सहज क्षेत्र हो ।’
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ अपुग रहेको, गत वर्षको भन्दा यस वर्ष सरकारको ऋण तथा साँवा भुक्तानी गर्ने दायित्व १ खर्ब ४ अर्बले बढेकाले १८ खर्बको बजेट सिलिङ अपुग देखिएको, गत वर्ष १७ खर्ब र अहिले १८ खर्ब बजेट सिलिङ हुँदा पनि दायित्व भुक्तानी तिर्नुपर्ने भएकाले अपुग देखिएको तथा १८ खर्ब भन्दा बढी सरकारले विनियोजन गर्नसक्ने ठाउँ नभएको दाबी गरे ।
बजेट निर्माणमा सरकारलाई धेरै अफ्ठ्याराहरु रहेको भन्दै अफ्ठ्यारा भित्र नै विनियोजन कुलशता देखाएर आशा जगाउनुपर्ने दबाब सरकारलाई रहेको समेत पूनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस्