Shikhar Insurance
National Life

अर्थ मन्त्रालयमा प्रवेश निषेध, असईको कमाण्डमा १० जना प्रहरी परिचालन

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार ०८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयमा प्रवेश निषेधको घोषणा गरेका छन् । बजेटको समयमा मन्त्रालयमा धेरै भिडभाड हुने भन्दै प्रवेश निषेध गरेका हुन् ।

मन्त्री पुनले मन्त्रालयमा प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा १० जना प्रहरी परिचालन गरेका छन् । मन्त्री पुनले मन्त्रालय प्रवेश गर्न जिद्धि गर्नेलाई बल प्रयोग गर्न निर्देशन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयमा बजेटको समयमा कडाई गर्ने भएपनि यसभन्दा अघि १ जना मात्रै प्रहरी परिचालन गरिन्थ्यो । तर यो पटक भने मन्त्री पुनले १० गुणाले सुरक्षाकर्मी बढाएका हुन् ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरेका छन् । ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, खत्रीले भने, ‘ तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’ खत्रीले सम्बद्ध मन्त्रालय  तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरु, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन भने । लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा परिवर्तन गरिएबाट पर्न जाने असरप्रति मन्त्रालय क्षमाप्रार्थी रहेको उल्लेख गरे । खत्रीले विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुने गरेको स्पष्ट गरे ।

खत्रीले यसो भनिरहँदा पुर्व अर्थमन्त्री प्रकाशशरण महतको समयमा भने धेरै कडाई गरिएको थिएन । मन्त्री महतले एक जना मात्रै प्रहरी प्रयोग गरेका थिए । यस्तै बजेट टीम र बजेट महाशाखा बाहेक अन्य महाशाखाहरुमा  सजिलै प्रवेशको अनुमति दिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार अहिले प्रशासन महाशाखामा नेपाली काँग्रेस निकट सहसचिव डा.टोकराज पाण्डे छन् । काँग्रेसी कर्मचारीहरुले मन्त्री पुनलाई विवादमा ल्याउने गरी योजना बनाइरहेको मन्त्रालयका एक कर्मचारीले बताए ।

‘पुर्वमन्त्री महतको समयमा खुला गरेको मन्त्रालय अहिले कडाई गर्नुको कुनै तुक छैन मन्त्रालयका एक कर्मचारीले भने, मन्त्रालयमा धेरै कडाई गर्दा मन्त्री पुनसँग मानिसहरु रिसाउने छन्, उनलाई विवादमा ल्याउन प्रवेश निषेधको योजना बनाइएको हो ।’

मन्त्रालयमा समाचार संकलनका लागि जाने संचारकर्मिलाई समेत प्रवेश निषेध गरेको छ । यस्तै, बजेट माग गर्न आउने मन्त्री, सासंद, स्थानीय जनप्रतिनिधि लगायतलाई अग्रिम समय लिएर मात्रै मन्त्रालय आउन भनिएको छ ।

अर्थमन्त्री पुनले मन्त्रालय सम्हालेपछि आफू अनुकुल टिम बनाउन प्रयास गरेका थिए । तर सचिव डा.कृष्णहरि पुष्करले शक्ति केन्द्र रिझाएपछि मन्त्री पुन दबाबमा देखिएका छन् । मन्त्री पुनले दुबै सचिवलाई फेर्न चाहेपनि सकिरहेका छैनन ।

सचिव तथा कर्मचारी सरुवामा प्रधानमन्त्री कार्यलयबाटै हस्तक्षेप बढाएपछि मन्त्री पुन अन्योलमा देखिएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्