Skip to content
Shikhar Insurance
National Life

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् । नेपाल–इटाली चेम्बर अफ कमर्सको साधारणसभामा उनले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण बनेको स्पष्ट पारेकी हुन् ।

“हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौँ । नागरिक र राज्यका तथ्याङ्क सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौँ” उनले भनिन् ।

लगानीको वातावरण बनाउँन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आइटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताईन् ।

शर्माले भनिन्,“सरकारी तवरबाट सङ्ख्या ष्किन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै १ लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सीप र सेवा विभिन्न मुलुकमा निर्यात गरिरहेको अवस्था छ । लगानीमैत्री नीति र कानुन तथा दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरूलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल–इटाली चेम्बर अफ कमर्सलाई आग्रह गरिन् । “यहाँहरू जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ । अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ । यसमा धेरैभन्दा धेरै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ” उनले जानकारी दिईन् ।

लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरू तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिईन् । पछिल्लो समय नेपाल र इटलीबीच द्विपक्षीय व्यापारको राम्रो सम्भावना बढ्दै गएको उल्लेख गर्दै उनले निर्यात बढाउँदै व्यापार सन्तुलन कायम गर्नुपर्ने बताईन् । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रूपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या गुणात्मकरूपमा बढाउन आवश्यक रहेको बताईन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्