काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रुपमा मात्रै रहने जिकिर समेत गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्व बढाउने स्पष्ट पारे । उनले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धि बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताए ।
उपप्रधानमन्त्री यादवले भने‘समानता र सामाजिक न्याय भएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन । हामीले संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र त बनायौं । तर समानता, सुशासन र सामाजिक न्याय खासगरी सामाजिक न्याय र समानताको अभावमा लोकतन्त्र र गणतन्त्र एउटा निश्चित समुदाय, एउटा निश्चित वर्ग, निश्चित विशेष समुदायको खेलौना भएर मात्रै रहन्छन् । त्यसले गर्दाखेरी पहिचान, समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक र महत्व बढाउँछ । हुन त आजको युगमा यसो हेर्छु–सोसल मिडिया २÷३ जना बसेर हेर्न पनि कठिन हुने जस्तो युगमा यहाँहरुको कलमले एउटा चेतना, सामाजिक दायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई अगाडि बढाउन सकियोस् ।’
उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उनले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात गरेर सञ्चाकर्मीहरुले अघि बढ्नुपर्ने तर्क समेत गरे ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्