हुम्ला । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र वडा नं ५ को बीचमा सडक निर्माणका कारण बाटो बन्द हुँदा विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ । खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा हिल्दुम गाउँका विद्यार्थी हिँड्ने बाटो पुरिएको हो ।
गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थी समस्यामा परेको स्थानीय छक्कबहादुर शाहीले बताए । गाउँमा कक्षा पाँचसम्म मात्रै पढाइ हुने भएकाले कक्षा ६ देखि पढ्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । गाउँबाट १५ जना विद्यार्थी पढ्नका लागि सदरमुकामको बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालय जाने गर्छन् ।
पुरानो बाटो पुरिँदा विद्यालय पुग्न कठिन भएको विद्यार्थी मेग्या कामीले गुनासो गरिन् । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने बरगाउँ र माथिल्लो ठेहेका गाउँका नागरीकलाई समेत समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्