Shikhar Insurance
National Life

भारतीय केरा आयात भएपछि स्थानीय उत्पादनले बजार पाएनन्, किसान चिन्तित

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १७:०२
Hyundai
NCELL
NIMB

चितवन । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएकोप्रति किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।

हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ मा २५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आएक घननाथ महतोले उत्पादनले बजार नपाउँदा थन्काएर राख्नुपरेको गुनासो गरे । उनले भने,“केरा बिक्रीका लागि तयार भएको १२ दिन भयो कतै बेच्न सकेको छैन ।”चितवन केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष समेत रहनुभएका महतो स्थानीय केराले बजार पाउन नसक्दा निकै चिन्तित छन् । भारतबाट आयातित केरा र यहाँ उत्पादित केराको मूल्यमा असमानता भएपछि बजार पाउन नसकेको उनका भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमित कृषि फर्मका सञ्चालक यज्ञ सुवेदी पनि स्थानीय केरा बजार ल्याउने तयारीमा छन् । तर चितवनमा यही उत्पादित केराले बजार पाउन नसकेको फर्मका सुवेदीले गुनासो गरे । उनले भने,“चितवनको बजार ९० प्रतिशत भारतीय केराले ओगटेको छ । स्थानीय केराले यहाँ बजार नपाएपछि पोखरा, बुटवललगायतका बजारमा केरा पठाउने सुरु गरिएको छ ।” उनले स्थानीय केराको बजारीकरणमा समस्या देखिएको बताए । “भारतीय केरा रोक्न व्यवसायीहरुसँग छलफल भए पनि कार्यान्वयन हुन सकेन । उनले बताए । उनले ५५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आएको छ । भारतबाट केरा आयात गरेर पकाउने र बजारमा ल्याउन गर्दा यहाँ उत्पादित केराले बजार पाउन नसकेको उनको भनाइ छ । चितवनका केरा व्यवसायीहरुसँग पटक–पटक छलफल भए पनि त्यहाँ भएका सहमतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या भएको उनले गुनासो गरे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई भरतपुरका सूचना अधिकारी इन्द्र ढुङ्गानाले जिल्लामा अहिले एक सय ५० टन केरा बिक्रीका लागि तयारी भइरहेको बताए । यी केराले जिल्लामा बजार नपाउँदा बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । उनले भने,“केरा उत्पादन भएर बजारमा आउने समय भयो । भारतीय केराले गर्दा यहाँका केराको बजार बिस्थापित भयो ।” जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादनमा जिल्लाका आठ सय किसान आबद्ध छन् । उनले भने,“जिल्लामा उत्पादित केराको बजार व्यवस्थापनका लागि पहल भइरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना केरा जोनका संयोजक बिष्णुहरि पन्तले विगतका वर्ष पनि यस्तो समस्या रहेको बताए । बजारीकरणका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ । जिल्लामा उत्पादित केरालाई ग्रेडिङ् गरेर बजारमा ल्याउने तयारी भइरहेको उनले बताए । उनले भने, “ग्रेडिङ् गरेर बजारमा केरा ल्याउन लागेका छौँ । यससँगै केरा पकाउने चेम्बर किसानलाई उपलब्ध गराइएको छ ।” यस वर्ष सातवटा चेम्बर उपलव्ध गराइ केरा पकाउन सहयोग गरिने उनले उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्