काठमाडौं । चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औं पुष्प मेलामा १ करोड ५ लाख ५० हजारको कारोबार भएको छ । मेलामा १ करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी ५ लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएका हुन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार १ सय जनाले अवलोकन गरेको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी गरे ।
अध्यक्ष तामाङका अनुसार मेलामा व्यावसायिक कक्ष ६०, ल्यान्डस्केपिङ कक्ष तीन, अफिसियल कक्ष आठ, प्रतियोगितात्मक प्रदर्शनी १ कक्ष र एक खाद्य प्रदर्शनी कक्षसहित जम्मा ७३ कक्ष राखिएको थियो । मेला अवलोकनका लागि सर्वसाधारणका लागि १ सय ५० र विद्यार्थीका लागि १ सय प्रवेश शुल्क तोकिएको थियो । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मुख्य नाराका साथ मेला सञ्चालन गरिएको हो ।
गत शनिबार मेलाको स्थलगत अवलोकन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताए । नेपालमा मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् ।
वि.सं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । अन्य समयभन्दा कार्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।
नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् । वार्षिक करिब ३ अर्ब सात करोडको फूलको कारोबार हुने गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्