मान्म । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ । रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनोलगायतको उत्पादन वृद्धि गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
सुधारिएको गोठ निर्मासँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । हालसम्म ८३ वटा सुधारिएको गोठ निर्माण गरिसकिएको गाउँपालिकाका कृषि प्राविधिक नारायणप्रसाद लम्सालले जानकारी दिए । उनले भने,“अब १० गोठ निर्माणको चरणमा छन् । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसान समूह, कृषि सहकारी, कृषि फार्ममार्फत गोठ निर्माण गरिरहेको छ ।”
सुधारिएको गोठबाट मलमूत्र सङ्कलन गरी खेतबारीमा हाल्ने गरिएको लम्सालले जानकारी दिए । “स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनो लगायतको उत्पादन वृद्धि गर्नुका साथै ती बाली जोगाउने अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकामा एक सय २५ समूह क्रियाशील छन् । ती समूहमार्फत बर्सेनि गोठ निर्माण गरिँदै आएको छ ।”उनले बताए ।
चालु आर्थिक वर्षमा यसका लागि गाउँपालिकाले ५ लाख र सङ्घीय सशर्त अनुदान २० लाख विनियोजन गरिएको प्राविधिक लम्सालले बताए । उनले भने,“भकारो सुधार गरी कुहिएर मलमा भएको खाद्य तत्व सुरक्षित रुपमा बालीमा प्रयोग गरेमा रासायनिक तथा विषादीको प्रयोग निरुत्साहित गर्न यसले प्रभावकारी भूमिका खेल्नेछ । कार्यक्रमअन्तर्गत गाईभैँसी बाँधेको गोठदेखि कुलेसो बनाइ नजिकै खाडल निर्माण गरी मलमूत्र सङ्कलन गर्ने तथा मलखाद व्यवस्थापनको काम गरिनेछ ।”
प्रतिक्रिया दिनुहोस्