काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकिकृत जाँच चौँकीको निर्माण स्थल अवलोकन गरेका छन् । उनीहरुले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण हुने प्रस्तावित एकिकृत जाँच चौँकीको निर्माण स्थल अवलोकन गरेका हुन् ।
अवलोकन भ्रमणका क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रस्तावित एकिकृत जाँच चौँकी (सुक्खा बन्दरगाह) को सन्दर्भमा नेपाल सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र संरचनाको डिजाइन समेत स्वीकृत भइ सकेको बताए । सो एकिकृत जाँच चौँकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने उनले जानकारी दिए ।
निर्माणका लागि जग्गा प्राप्तिका निमित्त स्थानिय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै क्षेत्रबाट सहमति उपलब्ध भएको र हाल वन तथा वातावरण मन्त्रालय मार्फत् कार्यवाही भइरहेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को २०८० जेठमा सम्पन्न भारत भ्रमणको क्रममा सो एकिकृत जाँच चौँकी भारत सरकारको सहयोगमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
उक्त एकिकृत जाँच चौँकी कञ्चनपुरको दोधारा चाँदनी नगरपालीका अन्तर्गत वडा नं. १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर जग्गामा निर्माण हुनेछ । मन्त्री भण्डारीले एकिकृत जाँच चौँकीको निर्माण सुदुरपश्चिमको वृहत्तर पक्षको विकासमा कोशेढुंगा सावित हुने बताउँदै जग्गा प्राप्ति तथा निर्माण कार्य शिघ्र थालनी गर्ने तर्फ अग्रसर रहन नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत सबै सरोकारवाला निकायलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्