काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
डोरी टँगाइ टोली साँझ ६ बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण शुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण शुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरेकी छन् ।
सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो । सगरमाथाको आधार शिविरमा रहेका निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छन्, ‘सगरमाथा हिमचुलीमा आज २०२१ मे ७ तारिखका दिन बेलुकीको ६ बजे रोप पुगेको छ । यस वर्षको सगरमाथाको पहिलो समिट भएको छ । कामीरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ टिमलाई बधाई ।’
सगरमाथाको आधार शिविरबाटै कुरा गर्दै निर्देशक आचार्यले कीर्तिमानी आरोही कामीरितासहितको शेर्पा आरोहीले चुचुरामा पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको बताइन् । उनले गतभन्दा अघिल्लो वर्षका तुलनामा सात दिनअघि नै सगरमाथाको आरोहण शुरु गरेर नेपालको व्यावसायिक आरोहणको सकारात्मक सन्देश विश्वभर गएको जानकारी दिइन् । सन् २०१९ को सगरमाथा आरोहण मे १४ तारिखदेखि शुरु भएको थियो । सगरमाथा आरोहणका लागि २० दिन बाँकी रहेकाले आरोहण व्यवस्थापनमा हरहमेसा तवरले जुटेको निर्देशक आचार्यले बताइन् ।
रोप फिक्सिङ टोलीमा कामीरिता, तेञ्जिङ शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, मिङ्माजोजी शेर्पा, फुरतेन्जी शेर्पा, ल्हाक्पानोर्बु शेर्पा, फुर्बाछिरिङ शेर्पा, छेटेनजोर्जी शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र फुर्बाकुसङ शेर्पा छन् ।
कामीरिताले तोडे आफ्नै कीतिमान
वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोड्नुभएको छ । कामीरिताले २५ औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताइन् । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।
सन् २०१९ को वसन्त आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । उक्त वर्ष ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१८ मा सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०१७ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ३६६ स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१६ मा ३८ समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।
कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।
सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपिडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी सलामी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।
सोलुखुम्बु –वसन्त यामको सगरमाथा आरोहण आजदेखि शुरु भएको छ । कामीरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टोली साँझ ६ बजे सगरमाथाको चुचुरामा पुगेसँगै यो यामको आरोहरण शुरु भएको विभागका निर्देशक आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिइन् ।
कामीरितासहितको नेपाली टोलीले सफलताका साथ चुचुरासम्मको बाटो निर्माण गरेको अधिकृत आचार्यको भनाइ थियो । मौसमले साथ दिएमा धमाधम आरोहण हुने बताइएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस्