काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा चैत १ र २ गते हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ थिमका साथ सहकारी अभियानको डिजिटल कन्क्लेभ हुन लागेको हो ।
प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न र महत्वाकांक्षी सहकारी भिजन-२०३० सँग डिजिटलाइजेसनको शक्ति प्रयोग गरी सहकारीको रुपान्तरण गर्न कार्यक्रम कोशेढुङ्गा सावित हुने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताईन् । कन्क्लेभको आन्तरिक तयारी पुरा भएको समेत उनले जानकारी दिईन् ।
सहकारीमा डिजिटलाईजेसन प्रक्रियामा बाधा पु¥याउने नीतिगत खाडलहरु पहिचान गरी सम्बोधन गर्न, डिजिटल सहकार्यका लागि सरोकारावालाबीच सहमति निर्माण गर्नका लागि पनि कन्क्लेभले महत्वपूर्ण दिशानिर्देशक गर्ने महासंघका नायव महाप्रबन्धक सुरेश थापाले जानकारी दिए । ‘डिजिटलाइजेसनसँग आउने चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ’भन्ने मान्यताका साथ सहकारीका लागि अनुकूल साइबर सुरक्षा प्रणालीहरूका विषयमा पनि महत्वपूर्ण सिकाई हुने थापाले बताए ।
कन्क्लेभमार्फत अग्रणी आइसीटी विशेषज्ञहरु, नीति निर्माताहरु र टेक्नोलोजी सेवा प्रदायकहरुसँग सहज अन्तक्रिया हुने भएकाले यसले नेपालको सहकारी अभियानलाई डिजिटल रुपान्तरणको यात्रामा पुलको काम गर्ने महाप्रबन्धक सुब्बाले बताईन् । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सन् २०३० मा सहकारीको पुर्नपरिकल्पना शीर्षकमा महत्वपूर्ण दिशानिर्देश गर्नेछन् । कार्यक्रमलाई इन्फो डेभलपर्स प्रालि र भैरव टेक्नोलोजी प्रालिले प्रायोजन गरेको छ ।
कार्यक्रममा नेपालमा सहकारीलाई डिजिटलाइज गर्ने विगतका अनुभव र भविष्यको रोडम्याप, सहकारी डिजिटाइजेसनको लागि डिजिटल समाधान, साइबर सुरक्षाको खतरा र न्यूनीकरणका रणनीति, डिजिटलाइजेसनका नीतिगत फ्रेमवर्क र सन् २०३० सम्म सहकारीलाई पूर्ण डिजिटलाइजेसन गर्ने एजेण्डाहरुका विषयमा प्रस्तुती हुने महासंघले जनाएको छ । यो कार्यक्रम सहकारीका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापकका लागि संस्थामा प्रविधि अवलम्बन गर्नका लागि निर्णय लिन सहज हुने गरी तय गरिएको महाप्रबन्धक सुब्बाले बताईन् ।
प्रतिक्रिया दिनुहोस्