म्याग्दी । म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदै गएको हो ।
म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका–५ पुलाचौरकी सरिता किसान, मञ्जु पौडेल, शारदा विक लगायतले सहकारीमा बचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर बन्न सफल भएको छ ।
त्यसैगरी बेनी–२ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस क्षेत्रका महिला तरकारी र फलफूलखेती, पशुपालन लगायतका उद्यमशील काममा आवद्ध भएर आर्थिक रुपमा स्वावलम्बी बन्दै गएका स्थानीय पार्वती कार्कीले बताए ।
घरायसी काममा सीमित रहने यहाँका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्संस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय छन् ।
गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला परिवारको खर्च आफैँ जुटाउन सफल भएका छन् । बेनी–१० की अंशु रोकाले सहकारीमार्फत ऋण काढेर सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाइन् । दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती भएकी उनले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गरेकी छन् । यसबाट मनग्य आम्दानी गर्न सफल भएको उनको भनाइ रहेको छ ।
रोकाले भनिन् आठ वर्ष अगाडि सहकारीबाट १० हजार ऋण लगेर व्यावसायिक खेती सुरु गरेँ । दोस्रो वर्ष तरकारी बेचेर ऋण तिरेँ । अहिले तरकारी बिक्रीबाट भएको आम्दानी सहकारीमा बचत गर्न थालेकी छु ।
वि.सं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित यहाँका धेरै महिला अहिले आत्मनिर्भर बनेका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिका तथा उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका महिला पनि सहकारी संस्थामार्फत सक्षम बन्दै गएका छन् । महिलालाई आर्थिकरुपमा सम्पन्न तथा सामाजिकरुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम बनेको छ ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिवृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । महिलालाई सङ्गठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, बचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको उनको भनाइ छ ।
जिल्लामा एक सयभन्दा बढी सहकारी संस्थाले महिलालाई आर्थिक रुपमा बलियो बनाउनुका साथै उनीहरुको क्षमता विकास, नेतृत्वदायी भूमिका र व्यक्तित्व विकासका लागि समेत भूमिका खेलेको जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष दीपक कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्