Shikhar Insurance
National Life

ठेलामा बदाम बेचेर जीविकोपार्जन गर्ने पाण्डेय भन्छन्,’पालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदिनुपर्छ’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १७:३३
Hyundai
NCELL
NIMB

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयलाई झलारी बजारको सडक छेउ ठेलामा बदाम बेच्दै आएको एक दशक बित्नै लागेको छ । बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ । बिहानै झिसमिसेमै पैदल हिँड्दै पाण्डेय खाना घरबाट बोक्दै झलारी बजार पुग्छन् । ठेलामा बदाम राखेर बेच्छन् ।

“सडक छेउमा बनाएको चुलोमा बदाम भुट्ने गर्छु । श्रीमतीले बदाम बिक्री गर्छिन् ।” पाण्डेयले भने । दैनिक २० किलोदेखि ४० किलोसम्म बदाम बिक्री हुने गरेको उनको भनाइ छ । पाण्डेय दम्पतीले दैनिक १ हजारदेखि १ हजार पाँच सयसम्म आम्दानी गर्दछन् । महँगो भएपछि बदाम बिक्री घटेको पाण्डेय दम्पतीको भनाइ छ । प्रतिकिलो २ सयका दरले खरिद गरेको बदाम ३ सयका दरले बिक्री हुने गरेको छ । हिउँदमा बदाम बढी बिक्री हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस व्यवसायबाट कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन् । उनले भने,“ठेलाकै कमाईले घर बनाएँ, परिवारवारको खर्च धानेको छु । अरुसँग हात थाप्नुपरेको छैन, पौरख गरेर जीविका चलाउँदै आएका छौँ ।”विसं २०६८ मा सहकारी संस्थाबाट २० हजार कर्जा लिएर पाण्डेयले ठेला व्यवसाय सुरु गरेका हुन् । व्यवसाय सञ्चालन गरेको एक वर्षमै सहकारीबाट लिएको कर्जा तिरेर उनले नाफा भएको रकम लगानी गरी व्यवसायलाई निरन्तरता दिएका हुन् । हिउँद सकिएपछि पाण्डेय दम्पतीले ठेलामा फलफूल बेच्ने गर्छन् ।

फलफूलका धेरै पसल भएकाले प्रतिस्पर्धा बढी हुने गरेको पाण्डेय दम्पतीको भनाइ छ । “थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट पनि जीविका चलाउन सकिने रहेछ”, पाण्डेय दम्पती भन्छन् । नगरपालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदनुपर्ने उनीहरुको माग छ । पछिल्लो समय झलारी बजार क्षेत्रमा ठेलामा व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्