काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले मुलुकको समस्या र चुनौतीलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले अर्थतन्त्र, सामाजिक न्याय, दैनिक जनजीवनमा देखिएका चुनौतीलाई सामना गर्न सबै दल एकताबद्ध हुनुपर्ने बताए ।
“सबैको सकारात्मक र रचनात्मक सहयोग भए मात्रै मुलुकमा विद्यमान चुनौती समाधान गर्न सकिन्छ । सरकारमा हुँदा वा प्रतिक्षमा हुँदा जनतालाई केन्द्रमा राख्नुपर्छ, विद्यमान राजनीतिक अस्थिरतालाई समाधान गरेर अघि बढ्नुपर्छ ।” सांसद अधिकारीले भने । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले मुलुकलाई राजनीतिक स्थायित्व दिन दलहरु एकजुट हुनुपर्ने बताए । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मिटरव्याज पीडित, लघुवित्त पीडित तथा किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा रहे मात्रै संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण हुने ठान्नु तथा सरकारबाट बाहिर बस्नु परे अस्थिरता र अन्योल देख्नु गलत भएको टिप्पणी गरे । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले स्वार्थ बाझिएका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिँदा जनताले न्याय नपाउने बताए ।
प्रतिक्रिया दिनुहोस्