काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको टिप्पणी गरेका छन् । एमालेसँगको नयाँ सत्तासमिकरण गरेलगत्तै सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उनले काँग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरुले आफूलाई अविश्वसनीय भन्ने गरेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरुले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरुले उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गरे । आफूलाई प्रतिक्रियावादीहरुका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताए ।
उनले आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याईरहने जिकिर समेत गरे । माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालले बताए । त्यस अवसरमा उनले सबै क्रान्तिकारी शक्तिलाई एकतावद्ध हुन पनि आह्वान गरे । शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरु एकतावद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो ।
उनले भने, ‘हामी सबैले आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा हुने आवश्यकता छ । खिइँदै, सक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने ? यो हुँदैन कमरेड । यस्तो बुद्धिले हुँदैन । यो नहुने बुद्धितिर नलागौं । म कमरेड विप्वललाई विशेष रुपले धन्यवाद दिन चाहन्छु–कमरेड विप्लव उठने वित्तिकै तपाईहरुमा एउटा तरंग शुरु हुन्छ । तपाईहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । म त म भइगए आज । न मर्दासम्म देशमा उथलपुथल भई नै रहन्छ । मलाई घेरा हालेर सिध्याउन धेरै पटक कोशिसहरु भए प्रतिक्रियावादीबाट घेरा तोड्दै आएका छौं ।’
प्रधानमन्त्री दाहालले आफूले जनयुद्धका योद्धाहरुको सपना पूरा गर्ने अठोट लिएको पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्