बागलुङ । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती सुरु गरेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थाल्एका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा अगाडी बढेका हुन् ।
लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताएका छन् । पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पु¥याउने लक्ष्य रहेको जानकारी गरेका छन् ।
कार्कीको नेतृत्वमा उनको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयवासीको जग्गामा रहेका झाडी तथा रुख हटाउने कार्यले तीव्रता पाएको छ । अहिले सायकोट क्षेत्रको पाँच सय रोपनी भन्दाबढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको छ ।
“केहीवर्ष भारतमा बिताएँ । १५ वर्ष साउदीमा रोजगारी गरेँ । अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ । खेती गर्ने कोही छैनन् कार्कीले भने, गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ । वरपर रहेका अनावश्यक रुख र झाडीले ती बिरुवा बढ्न पाएनन् । अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फँडानी भइरहेको छ । अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ ।
कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिए । सुन्तला गाउँका रुपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन । सुन्तलाबाटै वार्षिक ३ करोड भित्र्याउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन् ।
“सिगाना सुन्तला गाउँका रुपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन । यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो । सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फँडानी गर्ने, कुकाठ हटाउने काम भएको छ । यसले खेती विस्तारमा टेवा पुग्नेछ स्थानीय सूर्य कार्कीले भने गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जङ्गल बढेर घरसम्मै आउन थालेपछि रुख र झाडी फँडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो ।
बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रुख फँडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमले १ हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । उनले कटान गरेका रुख व्यवस्थापन भने स्वम् जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताए ।
खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रुख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ । खेतीयोग्य जग्गा बाँझिदै गएपछि उम्रिएका रुख बिरुवाले फलफुल तथा नगदेबाली गर्न कठिनाई भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्