काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताउनुभएको छ । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताएका हुन् ।
उनले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । उनले भने, संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भएपनि संसदको त्यो प्रकारको गाम्भियर्ता कायम हुन नसकेको बताए । उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्ने जानकारी गरे ।
उनले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पारे । उनले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए । विचारको शुन्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ रहेको छ ।
उनले भने, ‘अहिले विचारको शुन्यता छ त्यसै भएर जताजतै अराजकता छ । संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसदको । संसद त हाम्रो धमनी हो नि । हाम्रो आत्मा हो नि । सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि । संसद आफैँमा सार्वभौम सत्ता सम्पन्न हो । संघीय संसद कति माथि छ । त्यहाँ त्यही ओझ र गरिमा कायम छ ? छैन ।
त्यहाँ चयन गर्ने शब्द, त्यहाँका वाक्य गठनहरु, त्यहाँको स्तर, त्यहाँको ओझ, गरिमा, त्यहाँ बोल्ने कुरा संसारको कुनै अदालतमा मुद्दा लाग्दैन । भनेपछि त्यो विशेषाधिकारले स्वतः के माग गर्छ भने त्यही स्तरको गाम्भियर्ता, त्यही स्तरको ओझ, गरिमा कायम हुनुपर्ने । तर त्यो भइराखेको छैन । म संसदको खास–खास नेतृत्व र त्यहाँका सांसदहरुलाई मात्रै दोष दिन्न । किन त्यस्तो भइरहेको छ भने, मेरो निष्कर्ष के छ भने विचारको विकास भएको छैन । विचारको रिक्तता छ । विचारको शुन्यता छ । विचारको विकास नभइकन लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न सक्दैनौँ । पार्टी–पार्टीमा पनि लोकतन्त्र असाध्यै कमजोर छ । पार्टी, संसदमा लोकतन्त्र कमजोर हुनका पछाडी पनि, सिंगो राष्ट्रमा लोकतन्त्र कमजोर हुनका पछाडी पनि विचारको शुन्यता हो ’उनले भने ।
प्रतिक्रिया दिनुहोस्