काठमाडौं । अर्थ मन्त्रालयका सह-सचिव धनिराम शर्माले सरकारको ध्यान बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले यस्तो बताएका हुन्।
रिल्याक्सेन (सुविधा)ले गर्दा पुँजी अनुत्पादनशील क्षेत्रतर्फ गएको हुँदा अब बैंकिङ पुँजी उत्पादनमूलक क्षेत्रमा लैजाने सरकारको रणनीति रहेको उनले बताए । सरकारले सीमित पुँजीमा काम गर्न खोजेको बताउँदै शर्माले भने, ‘अहिले हाम्रो कन्सर्न (ध्यान) बैंकिङ पुँजी उत्पादनमूलक क्षेत्रमा जानुपर्छ भन्ने छ । सरकारको धारणा पनि त्यही हो । पुँजी उत्पादनशील क्षेत्रमा लैजान बैंक, रेगुलेटर र सरकारको भूमिका रहन्छ।’ पछिल्लो समय बैंकिङ क्षेत्रप्रतिको विश्वास घटाउने किसिमका प्रयास भइरहेकोतर्फ सरकार, अर्थ मन्त्रालय र बैंकिङ क्षेत्रले महसुस गरिरहेको शर्माले बताए । बैंकिङ सेक्टरप्रति मानिसको विश्वास घटाउने प्रयास भइरहेको हुँदा यस्ता सवेदनशील क्षेत्रका तथ्यगत विवरण रहेर सूचना सम्प्रेण गर्न मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।
शर्माले भने,‘बैंकिङ सेक्टर सर्वसाधारण निक्षेपकर्ताको पैसा चलाउने संस्था हो। जुन आम मानिसहरुको विश्वासमा चल्ने गर्छ । वास्तविक क्षेत्रको कुनै उद्योग डाउन हुन धेरै वर्ष लाग्छ । तर, वित्तीय क्षेत्रबाट आउने संस्था धराशायी हुन धेरै समय लाग्दैन। यो विश्वासको भरमा चल्ने सवेदनशील क्षेत्र भएको विश्वास गुम्नासाथ धराशायी हुन्छ।’ निक्षेपकर्ताले आफ्नो पैसा सुरक्षित हुन्छ भनेर बैंक पैसा राख्ने गरेको बताउँदै उनले भने, ‘विश्वास नै नभए मानिसहरुले बैंकमा पैसा झिक्न थाल्छन्। विश्वास गुमेर संस्था नै सकिएको धेरै ठाँउमा देखेका पनि छौँ।’ सर्वसाधारणको पैसा परिचालन गर्ने निकायबारे जनता र बचतकर्तालाई भ्रम छर्ने सूचना सम्प्रेषण नगर्न समेत शर्माल आग्रह गरे । ‘बैंकिङ क्षेत्रमा भएको गलत प्रवृत्ति ढाकछोप गर्नुपर्छ भन्ने पनि होइन, तर, तथ्यपरक भएर सूचना सम्प्रेण गर्नुपर्छ।’ उनले बताए ।
पछिल्लो छोटो समयमा बैंकिङ क्षेत्रको धेरै नै प्रगति भएको भन्दै उनले सरकारी राजस्वको मुख्य आधार नै बैंकिङ क्षेत्र बनेको बताए। उनले जानकारी दिदै भने,‘परिश्रमिक कर, कर्पोरेट इन्कम ट्याक्स हेर्दा ठूलो हिस्सा फाइनान्सियल सेक्टरले ओगटेको छ । यसमा बैंकिङ सेक्टरको ठूलो योगदान छ।’ सरकारका संस्थाबाट आउने राजस्व घटिरहेको बेला बैंकिङ क्षेत्रको राजस्व बढिरहेको हुँदा त्यसले पुँजी निर्माण गरेको शर्मा बताउँछन् । कुनै एउटा सेक्टर सधैँ एउटै गतिमा जान्छ भन्ने हुँदैन। त्यसैले हिजोको गतिमा देखिएको बैंकिङ सेक्टर अहिले ओभर मोनिटाइज भयो । त्यसकारण बैंकको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा गएको छ।’ उनले भने।
शर्माले आफ्नो तर्क राख्दै भने,‘निजी क्षेत्रले सधैँ केन्द्रीय बैंक उदार बन्नुपर्यो। अलि बढी कसियो, केही खुकुलो बनिदिनुपर्यो भन्ने अपेक्षा गर्छ । कोभिड अगाडिको अवस्थाको जस्तो खुकुलो बनिदिनुपर्यो भन्नुहुन्छ। त्यसमा सधैँ एउटा नीति र छुट तथा सहुलियत हुनुपर्छ भन्ने पनि छैन।’ जो जुन क्षेत्रमा सुविधा र सहुलियत थियो आज त्यो क्षेत्रमा केही समस्या आइरहेको उनको तर्क छ। बाहिरबाट पुँजी ल्याउन केही नीतिगत काम गर्नुपर्ने देखिएको र यही बेला लगानी सम्मेलन गर्न लागेकाले लगानीमा बाधक बनेका पक्षलाई समाधान गर्नुपर्ने अवस्था रहेको उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्