काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सोमबार उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् ।
उनले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहा¥याएको दाबी गरे । उनले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गरे । उनले प्रधानमन्त्री दाहाललाई खुला प्रतिष्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको बताए । उनले अहिले खुला प्रतिष्पर्धा भनिएपनि नियत भागबण्डाकै राखिएको बताए । महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने उनले बताए । उनले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुकिएको बताए ।
‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । जुन अब संसदमा केही समयपछि आउने उच्च शिक्षालाई हेर्ने विधेयक जुन आउँछ । त्यसमा काम गरिसकेपछि यसको प्रवन्ध हुन्छ । तर यो कानून बन्न अझैपनि कम्तिमा एक डेढ वर्ष लाग्छ । यहाँ समस्या के भयो भने त्यो कानून बन्नु भन्दा पहिला नै त्रिभूवन विश्वविद्यालय लगायतको सबै विश्वविद्यालयहरुको नेतृत्व रिक्त भयो । अब हामी अहिले कानून एक वर्षपछि बनाउँला ।
त्रिभूवन विश्वविद्यालयको नेतृत्व ठिक आयो भने बाँकी रहेको नेतृत्व ठिक आइहाल्छ । प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभयो र पटकपटक संकल्प पनि गर्नुभयो । अस्ति बीचमा प्रक्रिया अलिकति बिग्रियो भनेर उहाँले सच्याउने निर्देशन पनि दिनुभयो । तर अहिले नामहरु सिफारिस भएर जुन हतारहतार सिफारिस भएर जुन ठाउँमा ल्याइएको छ, यसबाट स्पष्ट के भयो भने फेरि एकपटक सरकारमा बसेको दलहरुमा मेरो दल पनि छ । जसरी यो भन्दा पहिला दलहरुको बीचमा विश्वविद्यालयको भागबण्डा हुन्थ्यो । फेरि यसलाई भागबण्डामा लगेर टुंग्याउने करिव निधोमा पुग्नुभयो । मलाई उदेक लागेको कुरा जताततै हामी भाषण गर्छौं । सबैकुरा बिग्रियो, भत्कियो भनेर । सच्याउने मौका पनि हामी पाउँछौँ । यही विश्वविद्यालयको सन्दर्भमा ।
हामी सबैजना प्रधानमन्त्रीलाई वातावरण बन्दियोस्, हामी जहिल्यै भाग माग्नुपर्ने हो । भागबण्डा नगरौँ, रोकौँ भनेर वातावरण बनाइरहेका छौँ । यत्रो वातावरण बनेको बेलामा, यस्तो उच्च शिक्षामा बेथिति भएको बेलामा यो बेलामा पनि यो अधिकारको प्रयोग नगर्ने ? यो बेलामा पनि नियत नराख्ने । त्यसैले मेरो आग्रह अहिले पनि सबैकुरा बिग्रिसकेको छैन । अहिले पनि प्रधानमन्त्रीले यतिखेर विश्वविद्यालय नियुक्तिका सन्दर्भमा प्रक्रिया सतहमा मिलेको देखिए पनि जे अपेक्षा गरिएको थियो, त्यो अपेक्षाअनुरुप भएको छैन । त्यसकारण म विश्वविद्यालयको कसले नेतृत्व गर्ने भन्नेकुरा म यसरी भागबण्डा गर्दिन, म नेतृत्व चयन ठिक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ ।
अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ । यो अधिकार कानूनले दिएको छ । अझै पनि उहाँको गर्ने इच्छाशक्ति छ भने यो बिन्दुबाट पनि उहाँले सच्याउन सक्नुहुन्छ । सच्याउनु भएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुप¥यो भन्नेकुराको कुनै पनि तुक रहँदैन । हामीले प्रश्न उठाउनुपर्ने कुरा नियतमा हो । प्रक्रियाको सन्दर्भमा के रहन्छ भने यो विषयको सन्दर्भमा विश्वविद्यालयको उपकुलपति लगायतका विषयको सन्दर्भमा मेरो नियत के हो ? नियुक्त गर्ने मानिसको नियत जसरी पनि मेरो मान्छे बनाउँछु, उपकुलपति मसँग नजिक भएको बनाउँछु, उपकुलपति बनाएपछि रजिस्टार सत्तामा भएको अरु दललाई भागबण्डा गर्दछु । त्रिभूवन विश्वविद्यालय मेरो दलले लिएकोले गर्दा अर्को विश्वविद्यालय अर्को दललाई दिन्छु, यसरी नै चल्दै आएको हो । जसले विश्वविद्यालय अस्तव्यस्त छ । अब झुक्याउन खोज्यौँ ।
नियत त्यो राखिसकेपछि अहिले प्रक्रिया पुग्यो भन्दै गर्दा भागबण्डा गर्दैगर्दा पनि यो भन्दा पहिला पनि भागबण्डा गर्दा खुला प्रतिष्पर्धा गर्दिन भनेको बेलामा पनि विश्वविद्यालयको जुन क्षेत्राधिकार छ, उपकुलपति हुनलाई यति वर्ष, अध्ययन गरेको, गराएको त्यो भन्दा बाहिरको मानिस त कसैले ल्याएर अहिलेसम्म गराएको होइन । यो भन्दा पहिला पनि योग्यता पुगेकै मान्छे बनाएको हो, नियत ठिक नराखेको हो । अहिले खुला प्रतिष्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो । जसकारण परिणाम एउटै आउने भयो । झाक्याइयो । अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्युलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुक्किरहनु भएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो ।’ —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्