नवलपरासी । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो ।
शीतभण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी सङ्घको योजना छ । सञ्चालनको अन्तिम तयारीमा रहेको छुट्टाछुट्टै चेम्बरसहितको तीनतले शीतभण्डारमा किसानको आकर्षण बढेको देखिन्छ । अब सुनवलमै शीतभण्डार निर्माण भएपछि व्यावसायिक खेती गर्ने किसान उत्साहित भएको सुनवल–२ का लोकनाथ भण्डारीले बताए । उनले भने, “अब कमसेकम केही उपज बढी भए राखौँ भन्नका लागि शीतभण्डार छ, म खुसी छु ।” यस वर्षदेखि शीतभण्डार सञ्चालन आउने भएपछि धेरै किसान खुसी भएका छन् । कृषि सहकारीले समेत ठूलो क्षेत्रफलमा खेती गर्न थालेका छन् ।
शीतभण्डार सबै एक ठाउँमा बनाउन पनि सकिँदैन, कुनै ठाउँ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्छ जिल्ला सहकारी सङ्घका अध्यक्ष विष्णु पौडेलले भने , ठुलो क्षमताको शीतभण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना सहकारी सङ्घको छ ।”
जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानीय तहदेखि तीनै तहका सरकार कृषिमैत्री नबन्दा शीतभण्डार सञ्चालनमा चुनौती थपिएको तर्क गरे । “जिल्लाका सात स्थानीय तह कोही पनि कृषि र किसानप्रति जिम्मेवार छैनन्, व्यावसायिक कृषिमा जोड दिएर उत्पादन बढाउनेतर्फ उनीहरूको ध्यान नै छैन”, उनले भने ।
शीतभण्डार निर्माण भए पनि अझै रु दुई करोड भुक्तानी गर्न बाँकी छ । एकातर्फ सञ्चालन खर्च र अर्कातर्फ कृषि उपजको अभावले शीतभण्डार सञ्चालन चुनौतीपूर्ण बनेको हो । पाल्पा, रूपन्देहीलगायत जिल्लाका उत्पादनलाई पनि समेट्नेगरी अभियान सञ्चालन गर्ने पौडेलले बताए । “पहाडी जिल्लाका उत्पादन पनि सुनवलसम्म झार्ने र जिल्लाका उद्योग कलकाराखानासँग पनि सम्पर्क गरी उनीहरूका सामान शीतभण्डारमा राख्नेगरी योजना बनाउँदैछौँ”, उनले भने ।
नवलपरासीका सात स्थानीय तहले चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारको सर्शत अनुदानसहित रु १६ करोड बढी रकम कृषिमा छुट्याएका छन् । तर योजनाबद्ध कार्यक्रम नआउँदा बजेट बालुवामा पानीसरह भएको सरोकारवालाको गुनासो छ । छिमेकी जिल्लाका उत्पादनसमेत भण्डारण गर्ने क्षमताका शीतभण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नसके किसानले मनग्य लाभ लिन सक्ने जनाइएको छ ।
नदीजन्य सामग्री जफत
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अवैधरूपमा राखिएको नदीजन्य सामग्री जफत गर्न सुरु गरेको छ । सुनवल–४ स्थित तुरियाखोलाबाट चोरीनिकासी गरी अवैध रूपमा डम्पिङ गरी राखिएका गिट्टी, बालुवा, ढुङ्गा, सुनवल नगरप्रमुख विमला अर्याल नेतृत्वको टोलीले जफत गर्न सुरू गरेको हो ।
टोलीले सुनवल–४ चारघरेस्थित औद्योगिक ग्राममा अवैधरूपमा राखिएको गिट्टी, बालुवा, ढुङ्गालाई जफत गरेको हो । पालिकाले जफत गरेको गिट्टी, बालुवा, ढुङ्गालाई सुनवल नगरपालिकामा जम्मा गरेर राखिएको बताए । नगरप्रमुख अर्यालले केही व्यक्तिले तुरियाखोलाबाट चोरी निकासी गरी सार्वजनिकस्थल र आफ्नो निजी जग्गामा भण्डारण गरी राखेको गिट्टी, बालुवा, भस्कट र ढुङ्गाका लागि पालिकाले पटक–पटक प्रमाणित गरी सम्बन्धित व्यक्तिलाई राजस्व बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि आफूहरू सामाग्री जफतमा लागेको बताए ।
केही व्यक्तिले तुरियाखोलाबाट दिनरात गिट्टी, बालुवा, भस्कट, मिस्कट र ढुङ्गा चोरी निकासी गर्ने अनि दोष जति पालिकाले खेप्नुपर्ने हुँदा चोरी निकासीलाई बन्द गर्न इलाका प्रहरी कार्यालय सुनवलको सहयोग लिएर जफत गर्न थालिएको नगरप्रमुख अर्यालले जानकारी दिए । उनले जफत गरिएको गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट र भस्कटको पालिकाले कानुनअनुसार व्यवस्था गर्ने र अवैध नदीजन्य पदार्थ जफत प्रक्रिया निरन्तर जारी रहने समेत जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्