म्याग्दी । दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा धवलागिरि गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो ।
पाँचवटा कोठा र एकतले भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री रहेको धवलागिरि गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिए । भवन निर्माणका लागि १ करोड ३९ लाख ५ सय ९४ मा ठेक्का लिएको पौडेल निर्माण सेवा बागलुङले १ करोड १७ लाख ३४ हजार एक सय १७ भुक्तानी पाएको उनले बताए ।
बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधि भण्डारण, प्रसूति, प्रशासनका लागि छुट्टाछुट्टै कक्ष रहेका छन् । निर्माण सकिएपछि स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनले भने,“यसअघि कच्ची र जीर्ण भवनको साँघुुरा कोठामा स्वास्थ्य चौकी सञ्चालन भएको थियो । नयाँ भवन बनेपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई सहज भएको छ ।” अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जामा दुई सय ५० घरधुरी छन् । गुर्जा पुुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन जङ्गल र भिरको बाटोमा पैदलयात्रा गर्नुपर्छ ।
धवलागिरि गाउँपालिकामा पछिल्लो एक वर्षयता २ करोड ७३ लाखको लागतमा गुर्जा र मुनामा स्वास्थ्य चौकी, ताकम र लुलाङमा वडा कार्यालय भवन निर्माण भएको छ । हिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ३९ लाख ७२ हजार ८१ मा ठेक्का लिएको मुना स्वास्थ्य चौकीको दुईतले सभाहलसहित नौकोठे भवन निर्माणमा पछिल्लोपटक ३७ लाख ५ हजार २ सय ६ खर्च भएको छ ।
४७ लाख खर्च भएको ताकम वडा कार्यालयको भवनलाई पूर्णता दिन पछिल्लोपटक थप १४ लाख ५९ हजार पाँच सय ९२ खर्च भएको छ । लुलाङको वडा कार्यालय विसं २०७७ र अन्य तीनवटा भवन २०७८ मा निर्माण सुरु भएको थियो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, ताकममा पाँच श्यया क्षमताको अस्पताल, मुदीमा स्वास्थ्य चौकी र मराङमा वडा कार्यालयको भवन निर्माणाधीन छन् ।सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन गाउँपालिका, स्वास्थ्य चौकी, अस्पताल र वडा कार्यालय भवन निर्माणमा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
प्रतिक्रिया दिनुहोस्