लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १ सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउँन महादेवको मूर्ति निर्माण गरिरहेको हो ।
संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउँन मात्र हालसम्म करिब डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा एक सय आठ शिवलिङ्ग र एक सय आठ धारा निर्माण गर्न लागिएको छ ।
यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि २ लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट ७३ लाख र टावर राखेबापत ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो ।
समितिका अनुसार ७३ लाख बेँसीसहरको एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा १ लाख ५० हजार ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष १० लाख, सामाजिक विकास कार्यालयबाट १० लाख, पूर्वाधार विकास कार्यालयबाट २० लाख, राइनास नगरपालिकाबाट १ लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
धारा र शिवलिङ्ग बनाउन ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म ४ लाख बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । तीर्थस्थल बन्दै गएको मस्र्याङ्दी नदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।
महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस्