म्याग्दी । काठमाडौंबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा २ घण्टा बितायो । “मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्”, उनले भने, “जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन ।”
लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको महसुुस गरेको घलेले अनुुभव सुनाए । म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचनले बताए । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ उनले भने, लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।”
कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुुद्री सतहबाट २ हजार ५ सय ३० मिटरको उचाइमा छ । बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ । बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताए । हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो उनले भने लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ । लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन् । व्यवसायीहरूका अनुसार यहाँ १ रातमा १ हजार जनासम्म बास बस्न सक्छन् ।
वसन्त र शरदयाममा भरिभराउ हुुने लेतेका होटल बेसिजनमा पनि खाली हुँदैनन्र। लेते आसपासका क्षेत्रमा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
लेतेबाट करिब छ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफल र कालीबराह पुगिन्छ । पन्ध्र मिनेट उकालो हिँडेर पुुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ । लेतेबाट एक घण्टाको पैदलयात्रा गरेपछि पुुगिने सेकुुङ, भुुछत्रो र टिटीतालमा पूर्वाधार निर्माण गरिएको तुलचानले बताए । चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिनै उत्पादन हुने आलुुको स्वादिष्ट परिकार चाख्न पाइन्छ । पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्