Shikhar Insurance
National Life

सिँचाइको व्यवस्था भएपछि रोमनटारका बासिन्दा खुसीले दङ्ग

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १७:१५
Hyundai
NCELL
NIMB

चितवन । सधैँ सुक्खा रहने हेटौँडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी पुग्दा दङ्ग छन् । कोदो र मकैमात्रै उत्पादन हुने यस क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै स्थानीयले बारी बिराएर विभिन्न किसिमका खेती गर्दै आएका छन् ।

स्थानीय पुरुषोत्तम पुडासैनी अहिले आफ्नै बारीमा व्यस्त छन् । सिँचाइको सुविधा भएपछि अहिले उनलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । उनले भने, “यो जग्गामा पानी आएर सिँचाइ हुन्छ जस्तो लागेको थिएन, अहिले त हामी हर्षित छौँ ।” सिँँचाइको अभावका कारण घर चलाउन लामो समयसम्म वैदेशिक रोजगारीमा गएको सुनाउँदै उनले अब भने यही कृषि कर्ममा रमाउने बताए । उनले भने, “मकै र कोदो लगाउने हामीले यस वर्षदेखि धानखेती गर्न पाएका छौँ, आफ्नै उत्पादनले छ महिनासम्म पनि खान नपुग्ने हामीलाई अहिले धान उत्पादन हुन थालेपछि खानका लागि समस्या नहुने भएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिँचाइको व्यवस्था भएपछि आफूले २६ क्विन्टल आलु बिक्री गरिसकेको जनाउँदै उनले अझै १० क्विन्टल आलु बिक्रीका लागि तयारी भइरहेको बताए । अहिले यहाँका स्थानीयले गहुँ, मकै, तोरी, धान र तरकारी लगाउने गरेका छन् । रोमनटार लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष हीरामणि चौलागाईं आफ्नो विसं २०५८ देखिको प्रयास अहिले आएर सफल भएको बताउँछन् । सिँचाइका लागि केही स्थानमा पाइप जडानको काम बाँकी रहे पनि गत साउनदेखि आयोजनामार्फत सिँचाइका लागि पानी कृषकको घर आँगनमा आउँदा निकै हर्षित भएको उनले बताए ।

चौलागाईंले भने, “आकाशे पानीका भरमा बस्नुपर्ने हामीले अहिले सिँचाइका लागि कुनै समस्या छैन ।” चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले सिँचाइको व्यवस्था गरेसँगै यस क्षेत्रको एक सय ५० बिघा सुक्खा क्षेत्र सिञ्चित भएको उनले बताए । ठूलो खडेरीमा यस क्षेत्रमा मकै लगाउन नपाउने यहाँका कृषक अहिले तीन बाली खेती गर्न थालेका छन् । सिँचाइबाट दुई सय परिवारभन्दा बढी लाभान्वित भएका छन् । सिँचाइका लागि सीताकाली खोलाबाट पहाड छिचोलेर पानीको व्यवस्था गरिएको उनले बताए ।

उनले भने, “अहिले हामीले तरकारीखेती गरिरहेका छौँ, अब मकै, धानलगायत बाली समयमा नै लगाउन पाउनेछौँ ।” सिँचाइको सुविधाले जिल्ला बाहिर रहेका छोराबुहारीलाई गाउँ बोलाउने तयारीमा रहेको उनले बताए । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले खोलाको पानीलाई केन्द्रिकृत गरेर सिँचाइको व्यवस्था गरिएको बताए । १ करोड २० लाखको लागतमा पहाडमा पानी पु¥याउन सकिएको उनले बताए ।

उनले भने, “एमएस केसिङ प्रणालीबाट सिँचाइको व्यवस्था गरिएको छ ।” त्यसमा फलामको बाकस बनाएर खोलाको पानीलाई सञ्चित गरेर जमिनमुनि पाँच मिटर गहिरो खाल्डो खनी पाइपका माध्यमबाट पानी पहाडी क्षेत्रमा पु¥याइएको उनले जानकारी दिए । यस्तै मकवानपुरको बकैया गाउँपालिकामा रहेको नयाँ दमार उपभोक्ता समितिले निर्माण गरेको आयोजना र बागमती गाउँपालिकामा राईगाउँ बजार लिफ्ट सिँचाइ आयोजनाले निर्माण गरेको आयोजना पनि सम्पन्न भएका छन् ।

अन्य दुई आयोजना निर्माणको चरणमा रहेका छन् । आर्थिक वर्ष २०७९/८० को योजनाअनुसार काम गरिएको चौलागाईंको भनाइ छ । पानीको अभावका कारण सिँचाइको सुविधा पाउन नसकेका जनतालाई सिँचाइको व्यवस्था मिलाएर कृषि उत्पादनमा आकर्षित गर्न लागेको उनले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्