Shikhar Insurance
National Life

करिब २८ करोडमा निर्माण भएको ६० कोठे होल्डिङ सेन्टर प्रयोगविहीन

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १६:२१
Hyundai
NCELL
NIMB

वीरगञ्ज । कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन् । विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब २८ करोडको लागतमा यहाँ कूल ६० कोठे होल्डिङ सेन्टर निर्माण गरिएका हुन् । हालसम्म ती भवनको स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोग गर्न सकिएको छैन ।

नेपाली सेनाले १३ भान्सा घर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय श्यया र जटिल अवस्थाका बिरामीका लागि एक सय श्यया तथा तीन वातानुकलित कक्षसहित निर्माण गरेको उक्त होल्डिङ सेन्टर सुरक्षार्थ सेनाको टोली खटिएको छ । “होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने निश्चित छैन”, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, “स्वामित्व निश्चित नहुँदा बिजुली र खानेपानी जडान गर्न सकिएको छैन ।” होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको उनले बताए । महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गरे पनि बजेट अभावका कारण स्वामित्व लिन नसकिने जवाफ पाएको प्रजिअ भुसालको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार ग¥यौँ, तर जवाफ आएको छैन”, उनले भने । होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार रहेको प्रजिअ भुसालले जानकारी दिए । विद्युत् प्राधिकरण र खानेपानी कार्यालयले होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गर्न स्वामित्व अनिश्चित भएकै कारण आनाकानी गरेको उनले बताए ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएकाले होल्डिङ सेन्टरको प्रयोग गर्नुपर्ने अवस्था आएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले बताए ।

डेढ महिनामा १० सङ्क्रमित थपिए

कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग जोडिएको पर्साको वीरगञ्जस्थित सिमानाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र केही दिनअघि मात्र वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो ।

सीमानाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरी भारतबाट आउने नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । उनीहरुको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउने गरिएको छ । भारतबाट आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए ।

गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म सात हजार पाँच सय जनाको स्क्रिनिङ गरिएको छ । तीमध्ये हालसम्म १० जनामा कोरोना पोजेटिभ देखिएको संयोजक यादवले बताए । कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको छ । हेल्थ डेस्कमा आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्र बनाउन सुझाव

अलपत्र रहेको होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा विकास गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादव नेपालमा समय समयमा सरुवा रोगको प्रभाव बढ्ने भएकाले त्यसको व्यवस्थापन गर्न पूर्वाधार आवश्यक भएको बताउँछन् । होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा प्रयोग गर्न सकिने उनको सुझाव छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालजस्तै सङ्घीय सरकारले यहाँको होल्डिङ सेन्टरलाई पनि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गरी सरुवा रोग व्यवस्थापन केन्द्र बनाउन जरुरी छ । छिमेकी देश भारतसँग टाँसिएको सिमानाकामा विभिन्न सरुवा रोगको जोखिम रहेकोले होल्डिङ सेन्टरलाई त्यसका लागि सदुपयोग गर्ने गरी नीति बनाउनुपर्ने संयोजक यादव बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्