बाँके । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिएका छन् । उनले राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताए ।
सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर खम्बामा बत्ती तथा ‘कन्ट्रोलर’ जडानको काम पनि सकिएको निर्माण कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिए । उनले भने अब केही स्थानमा ‘फिनिसिङ’ गर्नुपर्ने काम सकाएर केही दिनभित्र नेपालगन्जमा ‘ट्राफिक लाइट’ बाल्छौँ । बत्ती जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवक बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिह्न, नियम, सङ्केतका बारेमा सचेतना समेत प्रदान गरिने जनाइएको छ ।
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौंसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौंले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ साल पुस महिनामा १ करोड ५९ लाख रुपैयाँ (भ्याटसमेत) मा सो कामका लागि ठेक्का सम्झौता गरेको थियो । पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै गएको थियो । यहाँका ट्राफिक व्यवस्थापनलाई ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हरिकृष्ण सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस्