काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेका बताएका छन् ।
मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताएपनि काँग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले तत्काल मन्त्री मण्डल परिवर्तन हुने अवस्था नरहेको बताएका हुन् । नेपाल प्रेस युनियन रूपन्देहीले बुधवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताए ।
मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याएपनि खासै असर नपार्ने बताए । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको मन्त्री गुरुङले बताए ।
उनले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ तर मन्त्रीहरूको पर्फमेन्स चाहीँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्