अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको हो ।
शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।
अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।
सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए ।
वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उनले बताउछन् । प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्सेनि सुन्तला बिग्रिँदा किसान चिन्तित भएका छन् ।
पणेनामा २०० र वडा नं १ सिम्लेमा मात्रै करिब ४९ जना किसानले वार्षिक सुन्तला खेतीबाट घटीमा १ लाखदेखि बढीमा २८ लाखसम्म आम्दानी गर्दै आएका थिए । अर्घाखाँचीमा पाँच सय हेक्टर क्षेत्रमा सुन्तलाखेती हुन्छ । पाणिनि गाउँपालिका–१ पणेना, वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्