काठमाडौं । एक साता भित्रै मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबिच एक साताभित्रै मन्त्रिमण्ठल पुनर्गठन गर्ने समझदारीपछि सत्ता साँझेदार दलहरुबीच नयाँ मन्त्री छान्ने छलफल सुरु भएको छ । स्रोतका अनुसार गृह, अर्थ, पर्यटन तथा नागरिक उड्डयन, कृषि, उर्जा, सामान्य प्रशासन, कानुन, न्याय तथा संसदीय मामिला
शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा लगायत अधिकांश मन्त्रालयले नयाँ मन्त्री पाउनेछन् ।
काँग्रेसले अहिले सरकारमा रहेका सबै जसो मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनेछ । त्यस क्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले भने सरकार छाड्नुपर्ने छैन् । उनलाई अर्थबाट परराष्ट्र मन्त्रालय पठाउने तयारी रहेको स्रोत बताउँछ । काँग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो पार्टीको महासमिति बैठकपछि मात्रै मन्त्रिमण्डल फेरबदल गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर महासमिति बैठकसम्म कुर्दा महोल धेरै बिग्रिने भएकाले तत्कालै मन्त्री फेरेर अघि बढ्नुपर्ने तर्क प्रचण्ड र माधव नेपालले राखेपछि देउवा पनि कन्भिन्स भएको स्रोत बताउँछ । देउवाले डा. प्रकाश शरण महतलाई मन्त्रिमण्डल बाहिर राख्न नचाहेपछि उनको व्यवस्थापन परराष्ट्र मन्त्रालयमा गर्ने समझदारी बनेको हो ।
अर्थमा भने काँग्रेस महामन्त्री गगन थापा र माओवादी उप महासचिव बर्षमान पुनबीच कडा टक्कर रहेको छ । थापाले पनि आफुलाई प्रचण्ड सरकारमा अर्थमन्त्री बनाए वाहवाह हुने गरि काम गर्ने भन्दै सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई फकाई रहेका छन् ।
उता, काँग्रेसले गृहमन्त्रालय लिन चाहेकाले बर्षमान पुनले आफु अर्थमन्त्री बनेर प्रचण्ड सरकारलाई सफल बनाउने चाहना राखेका छन् ।त्यस बाहेक माओवादीले सञ्चार मन्त्रीलाई भने निरन्तरता दिने सम्भावना छ । पर्यटन मन्त्री सुदन किराँतीको बहिर्गमन भने पक्का जस्तै भैसकेको छ । काँग्रेसले उद्योग मन्त्री, युवा तथा खेलकुद मन्त्री, खानेपानी मन्त्री, परराष्ट्र मन्त्री, स्वास्थ्य मन्त्री लगायत अधिकांशलाई फिर्ता बोलाउने तय भएको स्रोत बताउँछ ।
एकिकृत समाजवादीले भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री डा. बेदुराम भुषाल तथा भौतिक राज्यमन्त्री नन्दा चपाईलाई नै फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनेछ । एकिकृत समाजवादीले थप एक मन्त्रालय माग गरेकाले जनमत पार्टीलाई सरकारबाट हटाएर सामान्य प्रशासन मन्त्रालय एकिकृत समाजवादीले पाउने सम्भावना छ । ‘माघ २० गते अगावै मन्त्रिमण्डल पुनर्गठन हुनेछ, लगानी सम्मेलन र आगामी बजेटको तयारी तिब्र गतिमा अघि बढेकाले मन्त्रिमण्डल पुनर्गठनका लागि हतार भएको देखिन्छ’, उच्च स्रोतले सिंहदरबारसँग भने ।
प्रधानमन्त्री प्रचण्डले अहिलेका अर्थमन्त्रीको कार्य सम्पादन कमजोर भएको बिषय गठबन्धन दलका शिर्ष नेताहरुको बैठकमा पटक पटक उठाउँदै आएका छन् । अर्थमन्त्रीकै कारण सरकार र गठबन्धनसँग निजी क्षेत्र रुष्ठ बनेको र त्यसले लगानी सम्मेलन नै असफल हुने जोखिम बढिरहेको ब्रिफिङ प्रचण्डले शिर्ष बैठकमा गरिरहेका छन् ।
उता, नेपाली काँग्रेस भने गृहमन्त्री नारायण काजी श्रेष्ठलाई फेर्नुपर्ने बटम लाइन अघि सारेर बसेको छ ।
प्रतिक्रिया दिनुहोस्