प्यूठान । प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।
जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले १ करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिए ।
मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ । वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छभने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका भारतीले बताए ।
‘जिपलाइन’को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी ६ सय ५० मिटरको छ । भारतीले भने, “जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ ।” जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ । जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ ।
पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो । प्यूठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छे«लगायतका थुप्रै हिमाल देख्न सकिन्छ ।
यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ ।
मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । त्यसले भने निरन्तरता पाउन सकेन । नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्