जनकपूर । मधेस प्रदेश सरकारले अगामी ३ वर्षभित्र प्रदेश भित्रका प्रत्येक पालिकामा सिंचाई सुविधा पुग्नेगरी विद्युतीकरण पुग्ने घोषणा गरेको छ । बुधवार मधेस प्रदेश सरकारले एक वर्षका उपलब्धि सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरु पुनःउत्थान तथा जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम अगाडी बढाउने पनि बताएको छ ।
एक वर्षे उपलब्धि सार्वजनिक गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले मधेसको लाइफलाइनको रुपमा रहेका चुरे संरक्षणलाई व्यवस्थापन गर्नको लागि चुरे संरक्षण कार्यक्रम प्रदेशको गौरव योजनाको रुपमा अगाडी बढाइने बताए ।
उनले प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप बिस्तार गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना र सञ्चालन गर्ने बताए । प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकतामा राखि प्रदेशका ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कम्तिमा ५ कि.मी सडक निर्माणका दरले कुल ३२० कि.मी. पक्की सडक निर्माण कार्य गरिरहेको बताए ।
एक वर्षमा प्रदेशले विभिन्न स्थानहरुमा ८ वटा पुल निर्माण सम्पन्न गरेको, २८ वटा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । मुख्यमन्त्री यादवसले प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा सडक स्तरोन्नति, वृहत मर्मत, र नियमित मर्मत सम्भार कार्य सञ्चालनका लागि तयारी भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्