कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरे । उनले भने यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताए ।
उनले यी दुर्घटनामा ९ सय १६ जनाले ज्यान गुमाएका र २ हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताए । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि बताए ।
उनले भने, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ? यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् ।
२ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’ ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए । उनले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको बताए । उनले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताए ।
उनले सडकलाई खाल्डाखुल्डी रहीत बनाएर, सडक सुधारका कामलाई तिब्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताए ।
उनले भने, ‘हामी यसमा गम्भीर छाँै र तपाईंले दिएको सुझाव र प्रश्नहरुको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौँ । राजनीतिक दल, संसद र संसदीय समितिले पनि आवश्यक सहयोग गर्नुपर्छ । घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ ।
सडकलाई खाल्डाखुल्डी रहीत बनाएर हुन्छ की, सडक सुधारका कामलाई तिब्रता दिएर हुन्छ की ? सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की ? चालकलाई प्रशिक्षण दिएर हुन्छ की ? हामी समस्याको निराकरण गर्नेकुरामा हामी गम्भीर छौँ ।’ सरकार सवारी साधन दुर्घटनाको न्युनिकरणका लागि आवश्यक काम गरेर अघि बढीरहेको बताए ।
न्यूज एजेन्सी नेपाल (नान)को सहयोगमा
प्रतिक्रिया दिनुहोस्