काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमनमा कडाई गर्न थालेको छ । बीमा क्षेत्रको प्रवर्द्धनमा मात्रै ध्यान दिएको आरोप लागिरहेको प्राधिकरणले पछिल्लो केहि समयदेखि भने कडाई साथ प्रस्तुत हुन थालेको छ ।
प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको हो । प्राधिकरणका अनुसार आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई नगद २।२ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा यथेष्ठ मात्रामा कैफियत फेला परेपछि स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्त बुझ्दो प्राप्त नभएपछि प्राधिकरणले नगद जरिवाना गरेको हो । प्राधिकरणले यस अघि नै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पनि दुई लाख रुपैयाँ जरिवाना गराईसकेको थियो ।
प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएका थिए ।
प्राधिकरणले नियमित रुपमा बीमा कम्पनीहरुको नियमित स्थलगत अनुगमन गरिरहेको छ । यस अघिका स्थलगत निरिक्षणहरुमा स्पष्टीकरण, चेतावनी र सचेत गराउँदै आएको प्राधिकरण यसपाली भने आक्रामक रुपमा देखिएको हो ।
‘अहिलेसम्म बीमा कम्पनीहरुलाई अलि बढी प्रवर्द्धन गर्दै आएका थियौं, अब भने नियमन गर्ने अवस्थामा पुगेका छौं, अब नियमन कस्तो हुनेछ भन्ने देखाउँछौं’, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस्