काठमाडौँ । निजी क्षेत्रले सरकारलाई चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन् । बिहीवारबाट काठमाडौंमा शुरु भएको आठौं घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन रहेको बताए । उनले यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको र बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि रहेको बताए ।
‘चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन छ । यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च भएको छैन । अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने छ । पूँजिगत खर्च बढ्दै जाँदा देशको अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ । बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’ उनले भने
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन्द्र मल्लले घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने बताएका छन् । उनले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘घर जग्गा कारोबारलाई चलायमान बनाउनसक्यो भने हाम्रो अर्थतन्त्र एकदमै सबल बन्छ । घरजग्गा कारोबारबाट मोटामोटी मुलुकलाई झन्डै अर्ब हाराहारीको राजश्व प्राप्त भइरहेको छ । यसलाई अलि व्यवस्थित गरेर, व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ । कित्ताकाटलाई अलि व्यवस्थित गर्न पनि आग्रह गर्छु ।’उनले भने । उनले नीति नियम निर्माणमा ढिलासुस्ती हुँदा कामहरु समयमै पाउन र पूरुा हुन नसकेको बताए ।
पुस १२ देखि १५ गतेसम्म मेला सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ भने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ ।
प्रतिक्रिया दिनुहोस्