काठमाडौं । १४ केजी सुनसहित पक्राउ परेको गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै घले समुहले १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको उल्लेख गरेको छ ।
समितिका अनुसार मीनबहादुर घलेले अंकित अग्रवाल नाम गरेका दुबईमा बस्ने भारतीय नागरिक सँग मिलेर सुन तस्करी गर्ने गरेका थिए। मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ।
मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्