काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो पटक मन्त्रीहरु हेरफेरबारे मुख खोलेका छन् । केहि समयदेखि अर्थमन्त्री, गृहमन्त्रीसहितका केहि मन्त्रीहरु फेर्नेबारे शिर्ष तहमा छलफल भैरहेका बेला प्रधानमन्त्रीले नै त्यसलाई सार्वजनिक गरिदिएका हुन् । दुबई भ्रमणबाट फकिँदा त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेरको कुनै सम्भावना नरहेको टिप्पणी गरेका थिए ।
तर रेडियो कान्तिपुरको ‘द हेडलाईनर्स’मा दिएको अन्तरवार्तामा भने प्रधानमन्त्रीले कतिपय मन्त्रीहरु परिवर्तन हुने तथ्य उजागर गरिदिएका हुन् । ‘धेरै पार्टीका मन्त्रीहरु भएकाले विकास निर्माणका कामहरु मैले जसरी गर्न चाहिरको छु, त्यसरी गर्न सकिरहेको छैन्, तर अब त्यसलाई चिरेर अघि बढ्ने योजना बनाएको छु । त्यसको निम्ति जरुरी पर्यो भने कतिपय मन्त्रीहरु पुनर्गठन गर्नुपर्ने स्थिति आउन पनि सक्छ । म त्यसका लागि पनि तयारी गर्दै छु ।’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
उनले अहिले नै मिति तोकेर फलानो दिन मन्त्री हेरफेर हुन्छ भन्ने ठाउँमा आफु नभए पनि सबै मन्त्री र सचिवहरुलाई टार्गेट दिने प्रक्रिया सुरु भएको जानकारी दिए । अहिले भने पहिलेको जस्तो टार्गेट नभएर भिन्नै लक्ष्य दिने र त्यो पुरा नहुने अवस्था देख्ने वित्तिकै मन्त्री फेर्ने प्रचण्डले बताए ।
काँग्रेसले गृहमन्त्री फेर्नुपर्ने अडान राखिरहेको छ भने माओवादी र काँग्रेसभित्रै अर्थमन्त्री फेर्न तिब्र दबाव छ । निजी क्षेत्रले पनि अर्थमन्त्रीका कारण लगानीको वातावरण बिग्रेको भन्दै अर्थमन्त्री फेर्न दबाव बढाईरहेका छन् । बैशाख ९ र १० गते आयोजना हुने लगानी सम्मेलनको तयारीका लागि तत्कालै अर्थमन्त्री फेर्नुपर्ने दबाव सरकार र सत्तारुढ गठबन्धनमाथि बढिरहेको छ ।
पछिल्लो समय गठबन्धनका शिर्ष नेताहरुबीचको बैठकले अर्थमन्त्री र गृहमन्त्री तत्कालै परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । अर्थ र गृहमन्त्री नफेरि लगानीकर्ताको आत्मविश्वास बढाउन नसकिने निचोड प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको बैठकले निकालेको थियो । उनीहरुले यी दुई मन्त्री मात्रै फेर्दा गलत सन्देश जाने भन्दै सबै मन्त्रीलाई फेर्नेबारे पनि कुरा भएको थियो । राष्ट्रिय सभा निर्वाचन अघि मन्त्री फेर्दा निर्वाचनमा पर्न सक्ने प्रभावबारे पनि छलफल भएको थियो ।
शिर्ष नेताहरुका बीचमा अर्थ र गृहमा नयाँ मन्त्री कसलाई ल्याउने भन्नेबारे पनि केहि समय छलफल भएको थियो । स्रोतका अनुसार काँग्रेस महामन्त्री गगन थापालाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक छन्, तर काँग्रेस सभापति देउवाले थप छलफल गर्नुपर्छ भनेका छन् । त्यसो त बर्षमान पुनलाई अर्थमन्त्री बनाएर जान सकिने बारे पनि शिर्ष नेताबीच कुरा भएको छ । तर बर्षमानले पनि आफुले अर्थ भन्दा पनि गृह जान चाहेको सन्देश दिएका छन् । जनार्दन शर्माले पनि अर्थ वा गृहमध्ये एक मन्त्रालयमा आफ्नो दावेदारी पेश गरेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस्