काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पाएको छ । महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले मंगलबार पूर्णता पाएको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले समितिका सल्लाहकार तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे ।
समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे र काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नियुक्त भएका छन् ।
समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् ।
समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।
समितिका उपसभापति, सल्लाहकार तथा सदस्यहरुलई मनोनयन पत्र थमाउँदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शिक्षा, शिप विकास तथा रोजगारीलाई आफुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष ढकालले महासंघले सोही मर्म अनुसार ‘जब फेयर’को आरम्भ गरेको पनि जानकारी दिए । उनले गुणस्तरिय शिक्षा, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धनका लागि सरकार–निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।
महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले पनि शिक्षा, शिप विकास र रोजगारीलाई नै केन्द्रमा राखेर आफुहरु अघि बढिरहेको बताएका थिए । गुणस्तरिय शिक्षाका माध्यमबाट शिपयुक्त जनशक्ति तयार हुने र त्यसले सहजै रोजगारी पनि प्राप्त गर्ने उनीहरुको भनाई थियो ।
समितिका सभापति गोपाल खनालले समितिको अगुवाईमा नेपालको शिक्षा प्रणाली, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी सृजनाका क्षेत्रका आफुले केहि नयाँ काम गर्ने योजना बनाएको बताएका थिए । सभापति खनालले सरकार, निजी क्षेत्र र विज्ञहरु सम्मिलित वृहद छलफल तथा अन्तरक्रियाका माध्यमबाट समितिले ठोस योजनासहित काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्